विराटनगर / मोरङ कानेपोखरीस्थित मुक्ति कृषि सहकारी संस्था लिमिटेडले सातौं साधरणसभा सम्पन्न गरेको छ ।
कानेपोखरी–२ बोहोराटोलमा शुक्रबार उक्त सहकारीले साधरणसभा सम्पन्न गरेको हो । साधरणसभाले अध्यक्ष अर्जुनकुमार आचार्यले प्रस्तुत गरेको प्रगति विवरण तथा आगामी कार्ययोजनासहितको प्रतिवेदन पारित गरेको छ । ४९ जना साधरणसदस्य रहेको सहकारी २०७१ साल फागुन ६ गते स्थापना भएको उक्त सहकारीले गत आर्थिक वर्ष २०७७÷०७८ मा १ करोड ४७ लाख ६८ हजार ६ सय ४० रुपैयाँको कारोबार गरेको छ । ६ लाख ४६ हजार ८ सय रुपैयाँ शेयर पूँजी रहेको सहकारीले गत वर्षमात्रै २ लाख ६३ हजार १३३ रुपैयाँ मुनाफा गर्न सफल भएको संस्थाका अध्यक्ष आचार्यले बताए । झण्डै ५ लाख रुपैयाँ स्थिर पूँजी रहेको सहकारीले आगामी ५ वर्षभित्रमा कानेपोखरी गाउँपालिकाकै नमुना कृषि सहकारी बन्ने लक्ष्य लिएको छ ।
सहकारीले आगामी आर्थिक वर्षसम्ममा २ सय शेयर सदस्य बनाउने र ५ वर्षभित्रमा १ हजार बढी शेयर सदस्य बनाउने लक्ष्य लिएको छ । हाल सहकारीले दूध संकलन तथा बिक्री गर्दै आएको छ । अब सहकारीले कृषि क्षेत्रको विकासका साथै पशुपालनको तालिम सञ्चालन गर्ने, गाउँपालिकाको ७ वटै वडा कार्यक्षेत्र हुने गरी कार्यक्षेत्र विस्तार गर्ने, पशुपालक किसान लक्षित ऋण तथा अनुदानका कार्यक्रम केन्द्रित गर्ने, किसानहरुको व्यावसायिक दक्षताका वृद्धिका लागि पहल गर्नेलगायतका प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । साधरणसभाको अवसरमा सहकारीले उत्कृष्ट ५ जना पशुपालक किसानलाई पुरस्कृत गरेको थियो । पुरस्कृत हुने किसानहरूमा टेकबहादुर दाहाल, जमुना अधिकारी, टेकबहादुर तामाङ, अभिकेशर भुर्तेल र धिम धिमाल रहेका छन् ।
Post Views: 5