दिलकुमार घमाल
अहिले विश्वका कुनै पनि मानिस तनावबाट मुक्त छन् जस्तो मलाई लाग्दैन । कोभिड–१९ कोरोना भाइरसको तेस्रो लहरको संक्रमण विश्वभरि नै तीव्र रुपमा फैलिरहेको छ । पहिलो, दोस्रो हुँदै अहिले तेस्रो लहरको सामना गरिरहेका छौं । कोरोनाको संक्रमण कहिलेसम्म हामीले सामना गर्नुपर्ने हो भन्ने टुंगो छैन । वैज्ञानिकहरूले समेत यसै भन्न सकेका छैनन् । विज्ञानले मान्छेलाई चन्द्रमामा पु¥यो, धेरै असम्भवलाई सम्भव बनायो । तर, कोरोनाविरुद्धको लडाइँमा विज्ञान असफल भएको छ ।
मलाई लाग्छ यतिबेला विज्ञान पनि आजित भइसकेको छ । थाकेर कतै प्रयोगशालाको कुनामा झोक््रयाइरहेको छ जस्तो लाग्छ मलाई । कोभिडले मानवीय क्षति मात्रै होइन आर्थिक क्षति पनि भएको छ । व्यवसायसँगै धेरैको रोजगारी गुमेको छ । यस्तो अवस्थामा कुनै पनि मान्छे तनावमुक्त छैन । हरेक व्यक्तिलाई तनावको पहाडले थिचेको छ यतिबेला । तर, अब तनाव लिएर पनि केही हुनेवाला छैन । एकछिनका लागि विश्वभरका ७ अर्ब मानिसले तनाव लिएकै भरमा कोरोनाको अन्त्य हुँदैन । त्यसो भएकाले तनाव किन लिने ? जे हुने भइहाल्छ । हुने कुरालाई कसैले टार्न सक्दैन । मनलाई बाँधेर राख्नुपर्छ । मनलाई धेरै चुलबुल र छरिन दिनुहुँदैन । हरेकको समय आउँछ । कोरोना पनि एकदिन पक्कै समाप्त भएर जानेछ । अनि मानिस उही गतिमा, उही रफ्तारमा र उही जीवनशैलीमा फर्किनेछ ।
सामान्य आर्थिक अवस्था भएका मध्यमवर्गीय मानिसभन्दा अहिले विश्वका धनी व्यक्तिहरूले धेरै नै आर्थिक नोक्सानी व्यहोर्न बाध्य भएका छन् । वार्षिक अर्बौं कारोबार गर्ने कम्पनीहरू बन्द भएका छन् । सयौंलाई रोजगारी दिएका उद्योग कलकारखाना कहिल्यै उठ्नै नसक्ने गरी थला परेका छन् । गरिब त सधैं गरिब नै थिए, छन् र हुनेछन् । आखिर कोरोनाको प्रभाव उनीहरूमा के नै परेको होला र ? कोरोना नहुँदा पनि उनीहरूलाई बिहान–बेलुकाको छाक टार्न पनि धौधौ थियो, अहिले पनि त्यस्तै अवस्था छ । तर, ठूला उद्योगी र व्यवसायीका सम्पत्ति बितेको दुई वर्षमा कति घट्यो होला ? एकपटक कल्पना गरौं त ? अनि किन चिन्ता लिने ? किन छटपटिने ।
भगवानलाई कामना गरौं कि बिहान–बेलुकाको खान दुःख नहोस्, अरु के नै चाहियो र ? आखिर कोरोनाले धनी भनेन, गरिब भनेन । सबैलाई संक्रमित बनायो । पैसाले बाँच्ने थिए भने धेरै मानिस कोरोनाबाट बच्ने थिए । धनी र प्रतिष्ठित व्यक्तिहरूले पनि कोरोनाका कारण ज्यान गुमाएका छन् । नहुने भन्दा हुनेखानेहरूले नै बढी ज्यान गुमाएका छन् । आखिर मृत्युलाई कसैले टार्न सक्दैन । मृत्यु निश्चित छ । यसर्थ चिन्ता लिनु बेकार छ । मनलाई धेरै नडुलाऔं, मनलाई आफ्नै नियन्त्रणमा राखौं । बस् यति गरियो भने ठूला समस्या पनि साना लाग्छन् । दुःख र पीडा पनि पर–पर भाग्छन् । जे जस्तो अवस्था छ त्यसैमा खुसी हुन सिकौं । सबैको जय होस् ।
(लेखक– अष्ट्रियाको इन्स्ब्रुकमा विगत दुई दशकभन्दा लामो समयदेखि परिवारका साथ पर्यटन व्यवसाय गरेर बस्दै आउनु भएको छ ।)