विराटनगर । आज विहान करिब ४ बजे सोलुखोला दुधकोशी आयोजनाको सुरुङबाट खसेका एक जना श्रमिकको अझै उद्धार हुन सकेको छैन भने एक जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ ।
सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको भर्लेनीस्थित पावरहाउस निर्माणस्थलको ठाडो सुरुङ निर्माणस्थलमा पाइप निकाल्ने क्रममा क्रेन भाँचिएर दुई श्रमिक सुरुङभित्र खसेका थिए।
पाइप निकाल्ने क्रममा क्रेन भाँचिएपछि उनीहरु सवार रहेको बकेट करिब १६० मिटर गहिरो सुरुङमा खसेको देखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक प्रदीप कटुवालले जानकारी दिनुभएको छ ।
पर्साको कोटेश्वर गाउँपालिकाका २० वर्षीय अंकित चौधरीलाई घाइते अवस्थामा उद्धार गरेर संखुवाभसाको मिसन अस्पतालमा पठाइएको कटुवालले जानकारी दिए । सुरुङभित्र खसेका बाराको कोहोल्बी नगरपालिका १ का २२ वर्षीय राकेश चौधरीको भने उद्धार गर्ने प्रयास भइरहेको डीएसपी कटुवालले जानकारी दिए ।