विराटनगर।धनकुटा र मोरङको छुट्टा–छुट्टै दुई स्थानबाट ९० किलो १०० ग्राम लागूऔषध गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका १ उखुडाँडा स्थित कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट ४० किलोग्राम गाँजा बरामद गरेको हो ।
चेकजाँचकै क्रममा सोही बसमा सवार रहेका सहिदभूमी गाउँपालिका १ धनकुटाका ३२ वर्षीय सुरज राईको साथबाट ४० ग्राम, र २२ वर्षीय सुरेश राईको साथबाट ६० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
लागूऔषध गाँजा बरामद भएसँगै बस र चालक सुन्दरहरैँचा ५ मोरङका ५१ वर्षीय रुद्रबहादुर तामाङ, सहचालक सहिदभूमी गाउँपालिका ७ का ४३ वर्षीय फत्तेमान राई र चौबिसे गाउँपालिका ५ धनकुटाका २९ वर्षीय सुरेन्द्र देवान समेतलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका उनीहरूको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, विराटनगर महानगरपालिका ११ स्थित बसपार्कबाट ५० किलोग्राम गाँजासहित धनकुटा सहिदभूमि गाउँपालिका ४ का ४४ वर्षीय यज्ञप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईले साग र तेजपत्ताको तीन वटा बोरामा गाँजा लुकाई–छिपाई ल्याएको अवस्थामा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
लागूऔषध गाँजासहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।