विराटनगर । कानुनी प्रावधान अनुसार नेपालको क्यासिनोमा नेपालीहरुलाई जुवा खेलाउन पाईदैन । तर विराटनगरका क्यासिनोहरुले प्रहरीको मिलेमतोमा स्थानीय उद्योगी, व्यापारी तथा आम सर्वसाधारणहरूलाई निर्वाध रुपमा जुवा खेलाउँदै आएका छन् । विशेष गरी विराटनगरको होटल विगमा संचालनमा रहेको च्याम्पेन जोन र रत्ना होटलमा रहेको सम्राट क्यासिनोमा नेपालीहरूलाई निर्वाध रुपमा जुवा खेलाइने गरेको छ ।
क्यासिनोले मोरङ प्रहरीसंग सेटिङ मिलाएकाले कहिलै छापा हान्ने गरिएको छैन । मोरङका एसपी दीपक पोखरेल तथा डिएसपी रञ्जन दाहालको शंकास्पद भूमिका देखिएको छ । मोरङका एसपी दीपक पोखरेल मोरङ आएदेखी नै सेटिङ मिलाउन तिर लागेको देखीएको छ । चाहे क्यासिनोसंग होस या बोर्डरका तस्करहरुसंग । मिटर व्याजमा पैसा लगाउने व्याक्तिहरु समेत क्यासिनोमा रहने गरेको र मोरङ प्रहरीसंग सेटिङ गरेका कारण प्रहरीले कहिले पनी क्यासिनोमा हस्तक्षेप नगरी खुलेआम नेपालीहरुलाइ खेल्न दिने गरेको विराटनगरका एक व्यवसायीले बताएका छन् ।
क्यासिनोमा प्रवेश गर्दा विदेशी नागरिक भएको पुष्टि हुने आईडी कार्ड अनिवार्य देखाउनु पर्ने नियम छ । तर विराटनगरका क्यासिनोले आईडी अनिवार्य चेक गर्नुपर्ने नियमको पालना समेत गर्दैन। विराटनगरका होटलमा संचालित क्यासिनोहरूको मुख्य ग्राहक भारतीय नागरिक हुन् । च्याम्पेन जोनका संचालक रामकृष्ण गौतम लगायतको सञ्चालक टीमले भारतका शहरहरूमा प्रचार गर्नुको सट्टा विराटनगरकै व्यापारी तथा सर्वसाधारणलाई जुवाको पासो थापिरहेका छन् जसका कारण क्यासिनो सधै विवादमा आउने गरेको छ । ।
स्वदेशीलाई क्यासिनोमा लुकाईछिपाई जुवा खेलाउन सम्भव छैन । तर केही प्रहरी अधिकारीसँगको मिलेमतोमा विराटनगरको क्यासीनोमा नेपालीलाई निर्वाध जुवा खेलाउने काम भइरहेको छ । प्रहरी आफै पैसा कमाउ भन्दामा लागि परेको छ । प्रहरी र क्यासिनोको व्यावहार म आउँदै गर्छु त लुक्दै गर भने जस्तो देखिएकोे छ । क्यासिनोले नेपालीहरूलाइ नै लुटिरहेको विषयमा निकायहरू बेखबर हुँदा सीमित धन्दा चलाउनेहरूको लागि क्यासिनो पछिल्लो समय आम्दानीको राम्रो माध्यम भएको छ ।
समाजमा रहेको यस्तो कामलाई रंगेहात पक्राउ गरी कानुन अनुसार कार्वाही गर्न जरुरी भइसकेको छ । प्रहरी जस्तो गहन जिम्मेवार संस्थाले जुवा खेलाउनु जस्तो घिनलाग्दो अपराधलाई नियन्त्रण गर्नुको सट्टा प्रबर्द्धन हुने कदम सार्नु कदापि ठिक होइन । यस्तो अपराधमा संलग्न भएका जो कोही होस् पत्ता लगाई उनीहरू उपर अविलम्ब कारबाही गर्नु जरुरी देखीएको छ ।
विराटनगरमा खुलेआम नेपालीहरुलाई क्यासिनोमा प्रवेश गर्न दिएको विषयमा विराटनगरका युवाहरुल जिल्ला प्रहरी कार्यालय र सिडियो कार्यालय मोरङमा क्यासिनो बन्द गर्नुपर्ने माग राखी ज्ञापन पत्र बुझाएका छन् । युवा व्यावसायी तथा समाजसेवी अभिषेक गिरीको नेतृत्वमा विराटनगरका युवाहरुले ज्ञापन पत्र वुझाएका हुन् ।
विराटनगरमा नेपालीहरुलाई क्यासिनो खेलाई मिटर व्याजको समेत क्यासिनोले काम गर्दै आएकाले यथासिघ्र बन्द गराउन माग गर्दै युवाहरुले ज्ञापन पत्र बुझाएका थिए । विराटनगरका क्यासिनोहरु खुलेआम नेपालीहरु प्रवेश गर्न दिएको र मिटर व्याजको कारण युवाहरु पस्दै गएका कारण क्यासिनो बन्द गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको समाजसेवी गिरीले बताएका छन् ।