एजेन्सी, १२ फागुन । चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सार्वजनिक गरेको छ । अमेरिकी प्रतिबन्धसँग जुझिरहेको सो कम्पनीले मेट एक्स-२ शृंखलाको मोबाइल फोन सार्वजनिक गरेको हो ।
आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ । गत वर्ष, हुवावे विश्व मोबाइल बजारमा बिक्रीका दृष्टिबाट पहिलो स्थानबाट छैटौं स्थानमा झरेको थियो । हुवावेको मेट एक्स-२ मोबाइल फोन फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन हो ।
यस मोबाइल डिभाइसमा राम्रो दृश्य र भिडियो तथा गेमका लागि राम्रो आवाज छ । यस फोनमा हुवावे आफैंले विकास गरेको निकै उन्नत किसिमको किरिन ९००० चिप्सको प्रयोग गरिएको छ । मेट एक्स२ को मूल्य चिनियाँ बजारमा दुई हजार ७८५ अमेरिकी डलर छ ।
हुवावे टेक्नोलोजिज हाल अमेरिकी प्रोसेसर चिप्स र गूगल सेवाबाट बन्चित छ ।