विराटनगर । जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ ।
कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो । चरन क्षेत्रको अभावका कारण भेडापालकलाई भेडा चराउन र भेडा बचाउन सकस पर्न थालेको छ ।
सुनसरीको हरिनगरा गाउँपालिका–४ का सुक्कल पाल र मिथ्लेस पाल भेडा चराउन सयौँ भेडा लिएर महिनौँ घर छाडेर हिँड्ने गरेका छन् ।
उनीहरूको दिनचर्या भेडा चराउनमै बित्ने गरेको छ । घरका परिवारसँगको सम्पर्क कमै हुने गर्छ । भेडा चराउनैका लागि घाँस भएको क्षेत्र खोज्दै दैनिक १० देखि २० किलोमिटरको यात्रा भेडा लिएर पैदल तय गर्नुपर्ने बाध्यता छ ।
‘भेडालाई बाँधेर राख्न गाह्रो छ । खुलामा चराउनु पर्छ । खुलामा चराउँदा खेतमा पसेर अरूको बाली खाइदेला भन्ने पीर हुन्छ’सुक्कल पालले, भने, ‘राति बास बस्दा पनि जङ्गली जनावरले भेडा खाइदेला भन्ने चिन्ता छ । आलोपालो गरेर २४सैँ घण्टा भेडाको सुती–नसुती निगरानी गर्नुपर्ने अवस्था छ ।’
भेडापालन गर्न दुःख बढी हुने तर बिगत ३० बर्ष देखि यहि काम गर्दै आएकोले खुसिनै भएको बताए । पुख्र्यौली पेशा भएर मात्र भेडापालन अँगालेको उल्लेख गर्दै उनले चर्ने ठाउँ कम हुँदै गएकाले पाल्न कठिन बन्दै गएको बताए ।
वर्षमा दुईपटक भेडाबाट ऊन निकाल्ने गरिएको छ । आधुनिकतासँगै भेडाको ऊनको बिक्री पनि कम हुँदै गएको छ । भेडाको ऊनको चाङले घर नै भरिए पनि बिक्री गर्न समस्या छ ।
भेडा चराउन हरिनगराबाट थालिएको यात्रा विराटनगर, कोशि टापु लौकही, इनरूवा, भण्टाबारी, जनकपुरसम्म पुग्ने उनी बताउँछन् ।
भेडा चराउनैका लागि विराटनगर आएका सुक्कल पाल नहर छेउमा पाल टाँगेर बसेका छन् । दुई सय भेडा लिएर हिँडेका उनीहरूको बढीजसो समय चरन क्षेत्र खोज्नमै वित्ने गरेको छ । सरकारले भेडाबाख्रा पालन गर्न सेवा सुविधा उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।