पोखरा, २० फागुन । पोखरा महानगरले हालै गठन गरेको पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीले शपथ लिएका छन् ।
बुधबार प्रतिष्ठानका नवनियुक्त कुलपति पदमराज ढकालका साथै प्राज्ञ सदस्यमा नियुक्त लोकदोहोरी गायक जीवन दाहाल, जनवादी गायक कृष्ण भण्डारी, साहित्यकार प्रकाश ज्ञवाली, कलाकार मिलन शेरचन, कवि सरस्वती श्रेष्ठ र संगीतकार दिलीप गायकले शपथ लिएका हुन् ।
कुलपति ढकाललाई महानगर प्रमुख मानबहादुर जिसीले र बाँकी पदाधिकारीलाई कुलपति ढकालले शपथ खुवाएका हुन् ।
प्रतिष्ठानमा पदाधिकारी र सदस्य चयनका लागि ११ जनाको नाम सिफारिस भएको थियो ।
पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल संयोजकत्वमा गठित सिफारिस समितिले असोज १८ गते ११ जनाको नाम सिफारिस गरेको थियो । सिफारिस समितिमा विज्ञ सदस्य मनकुमार श्रेष्ठ र महानगरपालिकाकै सूचना अधिकारी भरतराज पौडेल सदस्य थिए ।
११ सदस्यीय सांगठनिक ढाँचाको महानगर प्रज्ञा प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड सदस्यसमेत रहनेछन् भने महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ ।
समितिले प्रतिष्ठानका लागि पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मीलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), प्रतीक थापा र सुरज उपाध्याय गरी ११ जनाको नाम सिफारिस गरेको थियो ।
सिफारिसमा परेकामध्ये लोकप्रिय गायक धनबहादुर गायकको माघ १२ गते निधन भएको थियो ।
महानगरपालिकाले उनका छोरा दिलीप गायकलाई महानगरपालिकाले प्रज्ञा प्रतिष्ठानको सदस्य नियुक्त गरेको छ ।
सिफारिस समितिसँगको सल्लाहमै दिलीप नियुक्त भएका हुन् ।
सिफारिस ११ जना भए पनि ऐनले कुलपति र उपकुलपतिसहित ८ जना सदस्य सम्बन्धित क्षेत्रबाट चुनिने व्यवस्था गरेको छ ।
सम्बन्धित विधाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरूमध्येबाट २ जना महिलासहित प्रमुखले तोकेको ८ जना सदस्य रहने व्यवस्था ऐनमा छ ।
Post Views: 81