बराहक्षेत्र, २५ फागुन । सप्तकोशी नदीमा वर्षौँ अघिदेखि ज्यान जोखिममा राखेर बाँसको ब्यापार गरिँदै आएको छ । उदपुर, भोजपुर, धनकुटा, सङ्खुवासभालगायत जिल्लाबाट नदीमार्फत ज्यानै जोखिममा राखेर बाँसको ब्यापार गरिँदै आएको छ ।
आफ्नै बाँस काटेर वा अरूको बाँस सस्तो मूल्यमा किनेर नदीमा बगाउँदै ती जिल्लाहरूबाट चतरा, बाङ्गे, सिसौली र कोशी ब्यारेजसम्म लगेर बिक्री गरिन्छ । भोजपुरका श्याम राई र सुमन राईले विगत छ वर्षयता यसरी नै कोसीमा बाँस बगाएर ब्यापार गरिरहेका छन् ।
उनीहरूले प्रतिघना ६० देखि ७० रुपैयाँमा बाँस किनेर १२० सम्ममा बेच्छन् । तर, ज्यानै जोखिममा हालेर यसरी ब्यापार गर्दा पनि खासै फाइदा नहुने श्याम बताउँछन् । उनी भन्छन्, ‘धेरै गाह्रो छ । कोशीमा कहिले बाँधेको बाँस खुस्किएर समस्या आइपर्छ । फेरि बर्खाको समयमा भने व्यापार पनि ठप्प हुन्छ । जोखिमका साथ बाँस ल्याउँदा पनि दाम हालिदिँदैनन् । यसैले खासै फाइदा हुँदैन ।’
श्यामका अनुसार विगत पाँच वर्षमा ४ जना व्यापारी पानीमा डुबेर ज्यान गुमाइसकेका छन् ।