ललितपुर मेयरकप टी-२० महिला क्रिकेट प्रतियोगिता चैतमा हुने भएको छ ।
ललितपुर महानगरपालिकासँगको सहकार्यमा नेपाल क्रिकेट संघ (क्यान) ले मेयर कप महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको हो ।
उक्त प्रतियोगिता आयोजनाका लागि मंगलबार क्यानले ललितपुर महानगरपालिकासँग सम्झौता गरेको छ जसमा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले मेयर चिरीबाबु महर्जनको रोहबरमा तथा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरेका छन् ।
आज भएको उक्त सम्झौतासँगै प्रतियोगिता आयोजनाका लागि क्यानलाई ललितपुर महानगरपालिकाले २० लाख उपलब्ध गराउने छ । ललितपुर मेयर्स-११ सहित पाँच टोलीको सहभागीता हुने उक्त प्रतियोगिता टी-२० संरचनामा हुनेछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुने उक्त प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ । हाल क्यानले पुरुष मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता काठमाडौं महानगरपालिकासँगको सहकार्यमा गराइरहेको छ ।