इटहरी, १२ चैत । ईलाका प्रहरी कार्यालय इटहरीले नक्कली सुन दिएर ठगी गर्ने दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार ईलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरी नक्कली सुन दिएर ठगी गर्ने दुईजनालाई सार्वजनिक गरेको हो ।
इटहरी प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार पक्राउ पर्नेमा इटहरी ९ बस्ने २० वर्षीय फैजान आलम र इनरुवा १० बस्ने ४१ वर्षीय जल्लाउदिन मियाँ रहेका छन् । उनीहरुले इटहरी वडा नं.८ गैसार बस्ने ३८ वर्षीय यज्ञ बिक्रम ठकुरीलाई जग्गा जमिनको कारोबार गर्छौँ तपाईँ पनि लगानी गर्नुहोस् भनेर ठगी गरेका थिए ।
‘गत चैत्र ५ गते एउटा राम्रो जग्गा सस्तोमा आएको छ चार लाख लगानी गर्नुहोस् म आठ लाख लगानी गर्छु भनेर १० ग्राम बराबरको ८ वटा सुनको सिक्का दिएका रहेछन्,’ डीएसपी केसीले भने, ‘सुनको सिक्काहरु घरबाट ल्याएको र मैले ल्याएको सुन तपार्इँ राख्नु म भरे साँझसम्म तपाईको पैसा फिर्ता गरीदिन्छु भनेर पैसा लगेर फरार भएछन् ।’
प्रहरीका अनुसार ठकुरीलाई सुनजस्तो देखिने ८ वटा सिक्का दिएर चार लाख रुपैँया लिइ फरार भएको र प्रहरीकहाँ उजुरी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । ‘हामीले खोजतलास गर्ने क्रममा फैजान आलमलाई इटहरीबाट र जल्लाउदिन मियाँलाई ईनरुवाबाट पक्राउ गरेका छौँ,’ केसीले भने, ‘उनीहरुलाई ९ गते पक्राउ गरी ठगी मुद्धामा म्याद थप गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।’
Post Views: 50