विराटनगर, १५ चैत । छिमेकी देश भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि जोखिम बढेको छ । संक्रमण फैलनसक्ने भन्दै मन्त्रालयले स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै होलीे घरमा नै मनाउन आग्रह गरेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालयले समेत होलीमा भिडभाड नगरि घरमा नै मनाउन आग्रह गरेको अवस्था छ । तर सरकारी पक्षले नै यसको उल्लङ्घन गर्ने गरेका छन् । आम नागरिकलाई भिडभाड नगर्न प्रशासनले समेत भन्दै आएको छ ।
तर प्रदेश १ सामाजिक विकास मन्त्रालयले वजेट सिध्याउनकै लागि भएपनि कोरोना जोखिमका बिच इटहरीमा होली बिशेष सांस्कृतिक महोत्सब कार्यक्रम भिडभाडका साथ गरेको छ । सरकारी पक्षबाट नियम बिपरित कार्यक्रम गरेपनि प्रशासन मौन बसेको देखिन्छ । सामाजिक विकास मन्त्रालयले उक्त कार्यक्रमका लागि अगाडी नै बजेट छुट्याएको थियो ।
त्यहि बजेट सक्नकै लागि कोरोना जोखिमका बिच कार्यक्रम गरेको देखिन्छ । यसरी सरकारी पक्षले नै नियम उल्लङ्घन गर्दा कसले कारवाही गर्ने ? त्यो कार्यक्रमको खर्चले आम नागरिकका लागि स्वास्थ्य सामग्रि खरिद गरेको भए संक्रमण रोक्नमा मद्धत पुग्ने थियो । तर मन्त्रालयले संक्रमण रोक्नको साटो भिडभाड गरेर संक्रमण बढाउने क्रियाकलाप गरेको छ ।
सामाजिक विकास मन्त्रालयले शनिवार इटहरीमा आयोजना गरेको कार्यक्रम भिडभाडका साथ सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नव–नियुक्त सामाजिक विकास मन्त्री उषाकला राई, सचिव गोविन्द वहादुर कार्की लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।