जनकपुरधाम, १५ चैत । मिथिला नाट्य कला परिषद्ले नेपालकै चर्चित हास्यकलाकारद्वय मह जोडीलाई होली पर्वको उपलक्ष्यमा प्रत्येक वर्ष प्रदान गर्दै आएको महामूर्खको उपाधि प्रदान गरेको छ । आइतबार संस्थाले जनकपुरधाममा आयोजना गरेको महामूर्ख सम्मेलनमा हास्यकलाकारद्वय मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई प्रदान गरेको हो ।
मिनापले वार्षिक रुपमा आयोजना गरिँदै आएको होली महोत्सव तथा महामूर्ख सम्मेलनमा उनीहरूलाई सो उपाधि प्रदान गरिएको छ । प्रदेश नंं २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले सो उपाधिबापत कदर पत्र, दोसल्ला, जानकी मन्दिरको प्रतिमा सहितको उपहार प्रदान गरेर महामूर्खबाट सम्मानित गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश नंं २ को भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले मिथिला नाट्य कला परिषद्ले मैथिली भाषा, साहित्य तथा संस्कृतिको जर्गेनामा गरेको कामकाजको उच्च सम्मान गर्दै आफूलाई संस्थाले उपाधि प्रदान गरेर सम्मानित गरेकोमा आफूलाई गौरवान्वित बनाएको बताए । सम्मानित व्यक्तिहरू मध्ये मदनकृष्ण श्रेष्ठले मिथिलामा आफूहरूलाई महामुर्खको उपाधि दिने काम गरेकोमा आफू निक्कै खुसी भएको बताए ।
अर्का प्रसिद्ध हास्य कलाकार हरिवंश आचार्यले आफूहरूले धेरै पुरस्कार पाए पनि त्यसमा मिथिलाको यो पुरस्कारको विशेष महत्त्व भएको बताउँदै यस्ता कार्यक्रमले हिमाल, पहाड तथा तराई मधेसलाई जोड्ने काम गर्ने बताए ।
Post Views: 203