बलिउड अभिनेता आमिर खानले अब फिल्मबाट संन्यास लिने बताएका छन्। उनले आइडियाज अफ इन्डिया’ नामक कार्यक्रममा परिवारलाई समय दिन नपाएको भन्दै आगामी फिल्म लालसिंह चड्डा पछि फिल्ममा काम नगर्ने बताएका हुन् । यसका साथै फिल्म निर्माण र फिल्मसँग सम्बन्धित कुनै पनि काम समेत नगर्ने निर्णय लिएको खुलासा गरेका हुन्।
उनले यस्तो निर्णय परिवारसँग कोरोनाकालमै गरेकोे भएपनि परिवारभन्दा बाहिर भन्न चाहेर पनि भन्न नसकेको र फिल्म रिलिज हुने समयमा यस्तो घोषणा उपयुक्त हुँदैन भनेर आफु रोकिएको उनले बताए।
अभिनेता आमिरको फिल्मबाट संन्यास लिने निर्णयप्रति उनकी पूर्व श्रीमती किरण रावलगायत परिवार दुखी भएका थिए। उनकी श्रीमती किरण रावले फेरि सोच्न समेत आग्रह गरेकी थिइन्।
आफुले यस्तो कुरा किरणसहित परिवारलाई सुनाउँदा आफ्नै आँखा समेत रसाएको र मनबाटै फिल्म छाडिसकेको उनले बताए ।
‘किरणले मभित्रको फिल्मलाई चिनेकी छन्। उनले मसँग रुँदै फिल्मबाट अलग नहुन आग्रह गरिन्। तर, म अब यो सब गर्न चाहँदिनँ थिएँ,’ आमिरले भनेका छन्।
उनले यसमै थपे, ‘म तपाईंहरूसँग मेरो समय बिताउन चाहन्छु भनेर किरण र उनका आमाबाबु, रिना र उनका आमाबाबु, मेरा छोराछोरी र मेरो परिवारलाई सम्झाएँ।’
‘लालसिंह चड्डा रिलिजपछि अबको तीन–चार वर्षसम्म म के गर्छु भनेर कसैले पत्तै पाउँदैनन्। त्यतिञ्जेल म यहाँबाट हराउने छु। अब आराम गर्ने समय हो,’ आमिरले भने।
उनको पछिल्लो समय ‘ठग्स अफ हिन्दोस्तान’ रिलिज भएको थियो। यो फिल्म बक्स अफिसमा फ्लप सावित भयो।
आमिर र उनकी पत्नी किरण रावले गत असारमा सम्बन्ध विच्छेदको घोषणा गरेका थिए। किरण आमिरकी दोस्रो श्रीमती हुन् र उनीहरूका एक छोरा छन्। आमिरकी पूर्वपत्नी रिनाका तर्फबाट पनि छोरी इरा छिन्।
किरण र आमिरले आफूहरू श्रीमानश्रीमतीका रूपमा अलग भए पनि सँगै काम गरिरहने र साथी रहिरहने बताएका थिए।
Post Views: 0