विराटनगर । राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीको कार्यकाल आइतबार रातिबाट सकिएको छ । कार्यकाल सकिएको भोलिपल्ट आज उनी शीतलनिवासबाट बिदा हुँदैछिन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहणपछि भण्डारी शितलनिवासबाट बाहिरिने तालिका छ ।
उनी अब बूढानीलकण्ठस्थित निजी निवासमा बस्ने छिन् । राष्ट्रपतिको कार्यालयले नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथका लागि दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्दैछ ।
नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन् । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२र६३ को आन्दोलनको उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो ।