विराटनगर । कोसी प्रदेशले २०८० सालमा ६ वटा विदा थप गरेको छ ।
प्रदेश सरकारले यसअघिका विदा बाहेकका ६ वटा अतिरिक्त विदाबारे निर्णय गरेको हो ।
कोसी प्रदेशको बसेको मन्त्री परिषद् बैठकले प्रदेश सरकारले थप ६ वटा सार्वजनिक विदाबारे निर्णय गर्दै राजपत्रमा प्रकाशित गर्ने भएको हो ।
मन्त्रीपरिषद्ले आउँदो साउन २४ गते विश्व आदिवासी जनजाती दिवस, भदौ २१ गते राधाकृष्ण रथयात्रामा प्रदेशभर विदा दिने सरकारले निर्णय गरेको छ ।
यस्तै, असोज २ गते ऋषि पञ्चमीको दिन प्रदेशभरका महिलालाई मात्रै बिदा दिइने भएको छ भने कार्तिक २५ गते फाल्गुननन्द जयन्तीको दिन प्रदेशभर सार्वजनिक विदा दिइने भएको छ ।
यस्तै, मंसिर ४ गते छठ पर्वको समापनको दिनमा पनि विदा दिने सरकारले निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।
केन्द्र सरकारले नदिएको कुनै एक दिन मुस्लिम धर्मावलम्बीलाई लक्षित गर्दै इद पर्वका अवसरमा प्रदेशभरका मुस्लिमहरूलाई पनि एक दिन विदा दिने प्रदेश सरकारले निर्णय गरेको छ । यसअघिका विदा यथावत् रहने बताइएको छ ।