विराटनगर । बैंकको ब्याजदर विरुद्ध संयुक्त मूल संघर्ष समितिकामा आवद्ध व्यवसायीहरुले आन्दोलनका कार्यक्रम जारी रहेको बताएका छन् । विभिन्न महासंघ र संघहरुले संयुक्त विज्ञप्ति जारी गरेर बैंकको ब्याजदर लगायतका विषयमा जारी आन्दोलन नरोकिएको जानकारी दिएका हुन् ।
विभिन्न ४१ वटा व्यवसायी संघ महासंघहरुले संयुक्त विज्ञप्ति जारी गरेर आन्दोलन फिर्ता भएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताएका हो । संघर्ष समितिका संयोजक नरेश कटुवालले हस्ताक्षरमा जारी विज्ञप्तिमा संघर्ष समितिसँग सम्बन्ध नरहेको समूहले आन्दोलन फिर्ता लिएको विषय आफूहसँग सबन्धित नरहेको जानाइएको छ ।
‘केही दिन अघि हाम्रो महासंघ र संघहरुको आन्दोलनसँग सरोकार नरहने समूहले सम्पूर्ण उद्योगी व्यवसायीहरुले गर्दै आइरहेको संघर्षको कार्यक्रम फिर्ता लिएको भन्ने समाचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ । उक्त समाचार प्रति यस संघर्ष समितिको कुनै पनि संलग्नता नरहेको कुरा प्रष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै संयुक्त संघर्ष समितिको शान्तिपूर्ण विरोधको कार्यक्रम जारी रहेको पनि जनाइएको छ । यस्तो विकराल परिस्थितिमा सरकार तथा सम्बन्धित निकायले यथाशिघ्र व्यवसायीको माग कर्जा व्याजदर एकल अंकमा कायम गर्नु पर्ने माग सहितको आन्दोलन जारी रहेको पनि विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासन पछि नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलनका सम्पूर्ण कार्यक्रम रोकिएको जानकारी दिएको थियो । तर त्यसको केही समय पछि नै संघर्ष समितिले आन्दोलनका कार्यक्रम नरोकिएको विज्ञप्ति निकालेको हो ।

