विराटनगर । इटहरी ५ मा रहेको जनता बहुमुखी क्याम्पसमा गायक प्रताप दासले आफ्नो प्रस्तुति दिएका छन् ।
यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को निर्वाचनलाई लक्षित गर्दै बिहीबार आज नेविसंघ र समाजवादी विद्यार्थी युनियनको संयुक्त आयोजनामा भएको कार्यक्रममा गायक दासले प्रस्तुति दिएका हुन् ।
दासले आधा दर्जन बढी गीतहरू गाएका थिए। उनका गीतसँगै विद्यार्थीहरू उनीसँग रमाएका छन् ।
साथै, स्ववियुको निर्वाचनमा नेविसंघले नेतृत्व गरेको विद्यार्थी संगठनलाई जिताउन आह्वान गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान अध्यक्ष राजीव ढुंगानाले नेविसंघमा विचारको बहस हुने भएकाले जिताउनुपर्ने आह्वान गरे ।
‘यस क्याम्पसको भाग्य र भविष्य बदल्नका लागि नेविसंघले नेतृत्व गरेको टिमलाई बहुमतले विजयी गराउनुहुनेछ भन्ने विश्वास छ, ढुंगानाले भने, ‘अबको शिक्षा व्यवहारिक जीवन उपयोगी र रोजगारीमूलक हुनुपर्छ, यसका लागि नेविसंघले जित्न आवश्यक छ ।’
उनले जनता क्याम्पसलाई मूलुककै अब्बल बनाउनुपर्नेमा जोड दिए ।
इटहरीका नगर प्रमुख तथा कांग्रेस इटहरी नगरसभापति हेमकर्ण पौडेलले आँफू पनि यही क्याम्पसमा ०५७ सालमा नेविसंघबाटै स्ववियु सभापति भएका कारण इटहरीको शैक्षिक गुणस्तर वृद्धि गर्न काम गरिरहेको बताए ।
‘केही दिनअघि नेविसंघका साथीहरूले इटहरी अस्पतालमा छुट पाउनुपर्छ भनेर मलाई ज्ञापनपत्र बुझाउनुभएको थियो,’ नगर प्रमुख पौडेलले भने, ‘सबै विद्यार्थीले अस्पतालमा छुट पाउने कुरामा म प्रतिबद्धता व्यक्त गर्दछु म सबैलाई समान विभेद गर्ने छुट छैन ।’
उनले विचार र चेतनाको निर्माण गर्ने संगठन नेविसंघ रहेकाले जिताउन आह्वान गरे।
उनले भने,’स्वतन्त्रता, शान्ति, परिवर्तन र विकास चाहनेले नेविसंघलाई मत दिन आवश्यक छ, यो संगठनले आश्वासन मात्रै बाँडेर हिँड्दैन ।’
कार्यक्रममा नेविसंघका पूर्व केन्द्रिय उपसभापति विकास केसीले विचार र परिवर्तनको लडाईमा नेविसंघले ठूलो योगदान पुयाएको स्मरण गरे ।
उनले जनता क्याम्पसमै अध्ययन गरेर गएकाहरू पार्टी र राजनीतिमा ठूलो ठाउँमा पुगेको र क्याम्पसको स्तरोन्नतिका निम्ति काम गरिरहेको बताए ।
‘म कुनै दल र कुनै संगठनलाई नराम्रो भन्न चाहन्न,’ केसीले भने, ‘राम्रो मध्येको पनि राम्रो नेतृत्वं नेविसंघले पाएको छ, सोही कारण नेविसंघलाई जिताउन सबै विद्यार्थीहरूमा आह्वान गर्दछु ।’
स्ववियु निर्वाचनमा नैविस र समाजवादी विद्यार्थी युनियनबाट सभापतिमा सहदेव काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् । उनी नेतृत्वको टिमलाई जिताउनुपर्ने आमन्त्रित अतिथिहरूले बताएका थिए ।
समाजवादी विद्यार्थी युनियनका केन्द्रिय नेता रामचन्द्र राई, केन्द्रिय उपाध्यक्ष सन्जय राई, नेविसंघ सुनसरीका सभापति प्रमोद भट्टराई, नेविसंघ जनता क्याम्पसका सचिव विनोद खड्का, स्ववियु सचिवका उम्मेदवार अर्जुन राई लगायतले बोलेका थिए भने सुमनबाबू बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए ।