धेरै समयपछि देश फर्किएको छु
मुटुभरि उत्साहको खोला बोकेर
बिरामी बोकेर अस्पताल पुग्न
हतारोमा रहेको एम्बुलेन्सझैं
समय पनि कति चाँडै हुँइकिदोरहेछ ।
जन्मिएको गाउँ मोरियाबाट देखिने
हिमालहरु बसाइँ सरेछन् समुन्द्रतिर
वीरठाँटीमा थकाइ मारेर
उकालो चढ्ने बटुवा भेटिन मैले
डोको बोकेर घाँस काट्न जाने
दिदीबहिनीहरु देखिन
काँधमा हलोजुवा राखेर खेत हिंडेका
दाजुभाइ कतै भटिन ।
कति छिट्टै परिवर्तन भएछ मेरो देशको गाउँ ।
मोरियाबाट पल्लो डाँडामात्रै होइन
अन्नपूर्ण हिमाल आँखै अगाडि देखिन्थ्यो
तर आज त तुँवालोको पर्दाले ढाकेछ
प्रकृति र समय परिवर्तन भए पनि
नेता र जनताको दिमाग अझै परिवर्तन
भएको रहेनछ ।