विराटनगर, २१ चैत । विजय पोखरेलको दुई गोलको मद्दतले विराटनगर स्पोर्टिङ क्लब सुनसरीको इनरुवामा जारी चाँदबेला भन्सियामाई च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वार्टरफाइनल खेलमा गोल्डन स्टार भलुवालाई २-१ गोलले पराजित गर्दै विराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो ।
विराटनगरका लागि विजयले दुई गोल गरेका थिए । यता, भलुवाले भने एउटा आत्मघाती गोल उपहारमा पाएकाे थियो ।
खेलको पहिलो हाफको २२औं मिनेटमा विराटनगरका सुसान चौधरीले गरेको आत्मघाती गोलले भलुवाले अग्रता बनाएकाे थियो । ४२औं मिनेटमा विजयले गोल गर्दै विराटनगरलाई बराबरीमा ल्याए । खेलको ५५औं मिनेटमा उनले दोस्रो गोल गर्दै आफ्नो टिमलाई विजयी बनाएका थिए ।
खेलमा शानदार खेल प्रर्दशनका लागि विराटनगरका विजय म्यान अफ दि म्याच घोषित भएका थिए ।
स्थानीय तहमा खेलकुदको विकाससँगसँगै पर्यटन प्रर्वद्धनका निम्ति पहिलोपटक चाँदबेला भन्सियामाई च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना गरिएको हो । यस प्रतियोगितामा ८ वटा टिमहरुको सहभागिता रहेको छ । कपको प्रथम पुरस्कार राशि नगद रू ५१ हजार १ सय ५१ र दोस्रो पुरस्कार राशि नगदरू ३१हजार १ सय ५१ रहेको छ ।
Post Views: 332