चितवन, २४ चैत । भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदी माथि निर्माणाधीन पक्की पुल भत्किएको छ । सोमबार राति भारतमा गएको भूकम्पको धक्का नेपालमा समेत महसुस गरिएपछि उक्त पुल सोही कारण भत्किएको हुनसक्ने आशंका गरिएको छ ।
स्थानीय बासिन्दाका अनुसार कंक्रिट संरचना निर्माण सम्पन्न गरी स्टिल संरचना राख्ने तयारीमा रहेको सो पुल भत्किएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पुल भत्किएको विषयमा जानकारी प्राप्त भएको र कसको लापरवाहीले त्यो भएको हो यथार्थ बुझने काम भइरहेको बताए ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले भने भारतमा गएको भूकम्पले पुल भत्किएको आशंका गरेका छन् । उनले भने, ‘यो पुल प्रिस्ट्रेसिङ पुल हो । यस्तो पुलको निर्माण गर्दा ढलान गरेको २८ देखि ५० दिन भित्र ढलान भित्रबाट मेसिनले तान्नुपर्ने हुन्छ । भित्रबाट केबल राखेर नतान्दासम्म सर्पोटहरुमा हल्का मात्रै हल्लियो भने पनि पुल भत्किने सम्भावना हुन्छ ।’
उनका अनुसार इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी सँग शुरुमा १६ करोडको लागतमा निर्माण सम्झौता भएको उक्त पुल पछि नक्साङ्कन संशोधन (डिजाइन रिभ्यू) पछि लागत बढेर २१ करोड ६८ लाख रुपिंयाँ पुगेको थियो । निर्माण कम्पनीका प्रमुख योगेन्द्र कँडेलका अनुसार पुलमा क्रङ्किट स्पानको काम सकिएको अवस्था थियो । उनले दुई वटा स्पान खसेको जानकारी प्राप्त भएको स्वीकार गरे ।
चार वटा स्पान र ८० मिटर स्टील ट्रस्ट संरचना रहने उक्त पुल २२० मिटर लामो रहेको छ ।
Post Views: 712