विराटनगर, २ वैशाख । नेपाल प्रहरीका निलम्बित इन्सपेक्टर (प्रहरी निरीक्षक) ५५ वर्षीय महावीर यादवको विराटनगरमा भएको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१३ का बासिन्दा यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेर अनुसन्धान गरिरहेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार को १ प ६७३८ नम्बरको मोटरसाइकलमा दक्षिणतर्फ जाँदै गर्दा गत चैत २९ गते बिहान दुर्घटनामा परेर यादव गम्भीर घाइते हुनु भएको थियो ।
विराटनगर–१३ नहर छेउस्थित निर्माणाधीन सडकमा टाँगिएको डोरीमा अल्झिएर भएको दुर्घटनामा घाइते हुनु भएका उहाँको आज बिहान १ : ४० बजेतिर ज्यान गएको राईले बताउनु भयो । इन्सपेक्टर यादवको विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
सडक कालोपत्रे गर्नलाई बाटो बन्द गर्न टाँगिएको डोरीमा अल्झिँदा मोटरसाइकलमा यात्रारत यादवको घाँटीमा गहिरो चोट लागेको डीएसपी राईले बताउनु भयो । घाँटीको हड्डीसमेत भाँचिएको जानकारी अस्पतालले दिएको छ ।
Post Views: 150