.
विराटनगर, ५ वैशाख । कोरोना भाइरस संक्रमणको दोस्रो चरणको लहर बढ्दो छ । यसक्रममा कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गरी केही स्थानीय तहले विद्यालय बन्द गरिसकेका छन् भने केहीले बन्द गर्ने तरखर गर्दै छन् ।
हालै मात्र सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रमा विद्यालयहरु बन्द गरिएको छ । नगर क्षेत्रभित्रको एक विद्यालयका विद्यार्थीमा नयाँ प्रजातिको कोरोना देखिएपछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको हो । इनरुवा नगरपालिका कार्यालयले आइतबार सूचना जारी गरी नगरभित्रका विद्यालयहरु अर्को सूचना जारी नभएसम्मको लागि बन्द गर्ने गरिएको हो ।
यस्तैमा स्वास्थ्य विज्ञहरुले अविलम्ब विद्यालय बन्द गर्न सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्यविज्ञ डाक्टर रविन्द्र पाण्डेले भोलिदेखि नै स्कुल बन्द गर्न सुझाव दिएका छन् ।
उनले भनेका छन्, ‘अहिले फैलिएको कोरोना महामारी पहिलेभन्दा धेरै जटिल छ | कोरोना भाइरसको नयाँ प्रजातिले दैनिक सयौं बालबालिका संक्रमित भइरहेका छन् । दिनमा हजारभन्दा धेरै व्यक्तिहरु संक्रमित भइरहेका छन् । यस्तो विषम परिस्थितिमा बिद्यालय बन्द नगर्नु निम्न कोटीको ब्यापार हो ।’
‘सम्बन्धित निकाय समेत निम्न कोटीको ब्यापारको दवाव वा प्रभावमा पर्नु ठूलो बिडम्बना हो । बालबालिकाको जीवनरक्षा गर्न तथा बालबालिकामार्फत घरघरमा संक्रमण फैलाउने क्रम बन्द गर्नको लागि भोलिदेखि नै जोखिम जिल्लाका बिद्यालय अनलाइन प्रणालीमा लैजानु अपरिहार्य छ । आदरणीय अभिभावकले आफ्ना बालबालिकालाई भोलिदेखि नै घरभित्र राखेर सुरक्षित गर्नुहुन बिनम्र अनुरोध गर्दछु । स्वास्थ्यको सगरमाथाबाट हेर्दा अन्य टाकुरा धेरै तल छन् . स्वस्थ शरीरले नै ती टाकुरालाई सगरमाथा बनाउने हो,’ उनले भनेका छन् ।