काठमाडौँ, ६ वैशाख । सरकारले वैशाखभर विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गनुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ ।
यस्तै, यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ । बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।
Post Views: 255