विराटनगर, १३ वैशाख । साझा सवालका लागि साझा मञ्च कोकनले आजदेखि सहायता कक्ष (हेल्प डेक्स) सञ्चालनमा ल्याएको छ ।
कोरोना संक्रमणको दोश्रो लहरले व्यापकता पाएसंगै संक्रमित व्यक्तिहरुका लागि सहायता कक्ष सञ्चालनमा ल्याईएको कोकन अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिइन । उपचार नपाएका संक्रमितको अवस्थालाई मध्यनजर गर्दै सहायता कक्ष सञ्चालनमा ल्याईएको उनले बताइन ।
कोरोना संक्रमणका कारण समस्यामा परेकाहरूलाई सहायता कक्षको फोन नंं ९७४२३०६४६४ मा सम्पर्क गर्न सक्नुहुने अध्यक्ष उपाध्यायले जानकारी दिइन । उनले भनिन, ‘सहायता कक्षबाट संक्रमित विरामीको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले स्थापना गरिएको हो ।’
विराटनगर वा १ नम्वर प्रदेशका अस्पतालले संक्रमितको उपचार गर्न ईन्कार गरेमा वा जनस्वास्थ्य सम्वन्धी प्रचलित कानुन विपरीतका कार्य गरेमा पीडित वा प्रभावित व्यक्तिले सहायता कक्षमा सम्पर्क राख्न सक्ने उनको भनाई छ ।
उनले प्राप्त भएका गुनासोहरुलाई कोकनका स्वयमसेवकहरूले तत्काल सरकारी अधिकारीहरु समक्ष प्रस्तुत गरी आवश्यक कार्य गर्नका लागि ध्यानाकर्षण गराउने बताइन । कोकनले महिला, बालबालिका र सिमान्तकृत समुदायको हकअधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ ।