विराटनगर, १६ वैशाख । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पतालबाट विश्वसनीय सेवा दिने गरि काम गर्न आग्रह गरेकी छन् ।
निजी अस्पतालमा नभएको सेवा कोसी कोभिड अस्पतालमा रहेकाले विश्वसनिय सेवा दिन गरि काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेकी हुन् । उनले भनिन्, ‘अस्पतालमा भर्ना भएकाहरूबाट गुनासो नआउने गरि काम गर्नुहोस् ।’ सामाजिक विकास मन्त्रालयमा आज कोसी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा उनले प्रदेश १ मा उदाहरणीय कार्य गरेर देखाउन पनि आग्रह गरिन् । उनले भनिन्, ‘प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले राम्रो उपचार सेवा दिन्छ भन्ने महसुस संक्रमित र तिनका परिवारमा परोस् ।’
प्रदेश सरकारसँगको सहकार्यमा निजी क्षेत्रले तयार गरि गत पुस ५ गते हस्तान्तरण गरेको नागरिक केयर सेन्टरमा भोली देखि संक्रमितको उपचार शुरु गरिने बताउँदै उनले आवश्यक जनशक्तिको व्यवस्थापन गर्न पनि निर्देशन दिइन् । उनले भनिन्, ‘आन्तरिक व्यवस्थापन राम्रोसँग हुनुपर्यो, बजेटको समस्या छैन ।’ उनले अस्पतालको व्यवस्थापन र फोहोरको उचित व्यवस्थापन गर्न कोभिड अस्पतालको संयोजक वैद्यनाथ साहलाई निर्देशन दिइन् । उनले विरामीलाई औषधिको पनि कमी नहुने गरि व्यवस्थापन गर्न निर्देशन दिएकी छिन् ।
कोभिड अस्पतालका संयोजक साहले अस्पतालमा ८३ वटा अक्सिजन वेड र २१ वटा भेन्टिलेटर वेड तयारी अवस्थामा रहेको बताए । छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, डा. दीपक सिग्देल लगायतको उपस्थिति रहेको थियो ।
Post Views: 321