मोरङ । मोरङका दुई छुट्टाछुट्टै स्थानबाट दुईजना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि ईजाजत पत्र प्राप्त नगरेका ब्यक्तिहरूले क्लिनिक संचालन गरी चेकजाँच समेत गर्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका १ मा रहेको श्री राम पाईल्स क्लिनिकका सञ्चालक भारत दार्जिलिङ रानीगन्ज पानसालीका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका ३ गछिया चौकमा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक भारत दार्जिलिङ देवीगन्ज ग्रामपन्चायतका २९ वर्षीय सनोड मण्डल रहेका छन् ।
उनीहरूले बिगत केही समयदेखि आफू चिकित्सक भएको बताउँदै अबैध रुपमा क्लिनिक सञ्चालन गर्दे आएका थिए ।
यसरी अबैध रुपमा क्लिनिक सञ्चालन गरी आम नागरिकहरूको स्वास्थ्यमा खेलवाड गर्ने उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उपचारमा प्रयोग गरिएको सामाग्रीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूबारे मेडिकल काउन्सिलसँग समन्वय गरी ईलाज सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Post Views: 0