विराटनगर, ४ जेठ । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल शिक्षण अस्पतालका दुई चिकित्सकसहित चार जना स्वास्थ्यकर्मी कुटिएका छन् । सोमबार राति ८ बजे विराटको आकस्मिक कक्षमा कार्यरत चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतसहित चार स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो ।
चार जनाको एउटा समूहले बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको विराट अस्पतालका संयोजक सुनिल देवले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मोरङले कुटपिटमा संलग्न रहेका बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठलाई पक्राउ गरेको छ ।
अन्य दुई जना फरार रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार सोमबार राति नै दुई जनालाई प्रहरी पक्राउ गरिएको हो । सोमबार राति पेट दुखेर बूढीगङ्गा–२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठ उपचारका लागि भर्ना भएकी थिइन् । उनलाई अस्पताल लिएर आएका निश्चल र अनिलले चिकित्सकलाई गालीगलौच गर्दै कुटपिट गरेको अस्पतालका संयोजक देवले जानकारी दिए ।
गोमादेवीको उपचारमा ढिलाइ भएको भन्दै उनीहरूले आकस्मिक कक्षमा छिरेर चिकित्सक रेग्मी र बस्नेतमाथि कुटपिट गरेका हुन् । रेग्मी र बस्नेत कोसी राजमार्गअन्तर्गत बूढीगङ्गा–३ मा भएको दुर्घटनामा परेर घाइते भएका दुई जनाको उपचारमा संलग्न रहेका थिए ।
बूढीगङ्गा गाउँपालिका–३ गोकुवा चोकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्राी ५० वर्षीय बालकुमार बस्नेत र मोटरसाइकल यात्री इटहरी–७ का २५ वर्षीय समराज्य चौधरी घाइते भएपछि उनीहरूलाई विराटनै लगिएको थियो । सोमबार बेलुका पौने ८ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र१–०२–०४५ प ६०८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका बस्नेतको राति ९ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
उनीहरूको उपचार गर्दैगरेका चिकित्सकलाई आक्रमण भएपछि गम्भीर अवस्थाका बिरामीले केही बेर उपचारसमेत पाउन नसकेको संयोजक देवले जानकारी दिए । आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको उनले जानकारी दिए । घाइते अवस्थाका दुवै जनाको विराटमै उपचार भइरहेको छ ।
‘पेट दुखेर अस्पताल भर्ना भएका कारण वृद्धालाई हेर्न छोडे गम्भीर भएका घाइतेलाई हेर्दैगर्दा डाक्टरमाथि आक्रामण भएको हो’, देवले भने, ‘पाँच मिनेट ढिलाइ हुँदा आक्रमणको सामना गर्नुपरेको हो ।’
Post Views: 23