झापा । झापामा माछा मार्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका-११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर सोही स्थानका ३८ वर्षीय धनेन्द्र तामाङको मृत्यु भएको हो ।
आइतबार बेलुका साढे ४ बजे साथीहरुसँग माछा मार्ने क्रममा करेन्ट लागेर धनेन्द्र घाइते भएका थिए । गम्भीर घाइते तामाङलाइ उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड पुर्याइएको थियो । अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको सूचना पाएलगतै इलाका प्रहरी कार्यालय अनारमणीबाट खटिएको प्रहरी टोलीले तामाङसँग माछा मार्न गएका साथीहरुलाइ नियन्त्रणमा लिएको छ ।
सोही स्थानका ३८ वर्षीय दिलबहादुर खजुम लिम्बू र इलाम घर भई सोही स्थान बस्ने ३२ वर्षीय रमेश एक्तेन लिम्बूलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
Post Views: 14