काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ सङ्क्रमणको उच्च जोखिममा हुने गरेको छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले जोखिम रहेको हो । सङ्क्रमणको दोस्रो लहर देखिएपछि अधिकांश बिरामीमा फोक्सो र मुटमा गम्भीर असर पुर्याएको छ ।
अहिले सङ्क्रमितलाई धेरै जसो फोक्सोमा समस्या आई अक्सिजन दिनु परेको छ । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश पाण्डवका अनुसार सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने र सङ्क्रमणले झनै असर गर्ने गरेको छ ।
उनले अहिले सङ्क्रमणले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई बढी गम्भीर बनाउने भएकाले सेवन छाड्नुपर्ने बताए । उनका अनुसार धुम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग गरेको २० मिनेटमा नै मुटुको धड्कनमा सुधार आउँछ ।
यस्तै धुम्रपान छाडेको १२ घण्टाभित्र रगतमा कार्बोनमोनोअक्साइडको मात्रा कम भई रक्तचाप सामान्य अवस्थामा आउने र दुई हप्तादेखि १२ हप्तामा फोक्सोमा सुधार आउने, एकदेखि नौ महिनासम्म खोक्ने र छिटोछिटो सास फेर्नमा सुधार आउँछ । यसैगरी १० वर्षभित्रमा फोक्सोको क्यान्सर तथा १५ वर्षभित्रमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावनासमेत घट्छ ।
यस्तै नेपाल कार्डियो सेन्टरका वरिष्ठ कार्डियोलोजिष्ट डा ओममुक्ति अनिलले अहिले कोभिड–१९ का कारणले सुर्तीजन्य पदार्थ सेवन घटेको बताए ।
अहिले घटिरहेको सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्न उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याउनुपर्ने बताउँदै उनले दिनमा एकदुईवटा चुरोट खाँदा पनि हृदयाघात, फोक्सोमा क्यान्सर जस्ता समस्या देखिएको जानकारी दिए । युवा अवस्थामा नै सुर्तीजन्य पदार्थको सेवन छाड्न सके स्वास्थ्यलाई फाइदा हुने उनको भनाइ छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा राधिका थपलियाका अनुसार नेपालमा वर्षेनि २७ हजार १३७ व्यक्तिको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको छ । त्यो नेपालमा मृत्युको करीब १५ प्रतिशत हो । सुर्तीजन्य पदार्थको सेवनले नसर्ने रोग क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गरेको छ ।
विश्वमा करीब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने र १२ लाख व्यक्तिको सँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने गरेको छ । केन्द्रका निर्देशक डा थपलियाले नेपालको तथ्याङ्कले हाल सुर्तीजन्य पदार्थ सेवन गर्ने २८.९ प्रतिशत रहेका देखाएको बताए । तीमध्ये ४८.३ पुरुष र ११.६ प्रतिशत महिला छन् । यसैगरी पहिलोपटक धुम्रपान शुरु गर्दाको औषत उमेर १७.८ रहेको छ ।
दिनहुँ चुरोट खाने व्यक्तिले प्रत्येक दिन करीब ६.५ वटा चुरोट खाने गरेका छन् । नेपालमा वर्षेनि सुर्तीजन्य पदार्थको सेवनले उपचारार्थ खर्च, रोगीको उत्पादकत्वमा आएको ह्रास, अकाल मृत्यु र अशक्त हुँदा करीब रु ४७ अर्ब क्षति हुने गरेको छ ।
Post Views: 39