तिलक थापा
भोजपुर, १७ जेठ । अरुण गाउँपालिकाका नेपाली कांग्रेस सभापति श्री कुमार राईले कोरोना संक्रमितलाई लक्षित गरेर स्वास्थ्य सामग्री वितरण गर्न थालेका छन् ।
गाउँपालिकामा कोरोना संक्रमण पुष्टि हुन थालेपछि सभापति राईले टोल–टोलमा पुगेर स्वास्थ्य सामग्री वितरण गर्न थालेका हुन् । संक्रमितको घरसम्म पुगेर राईले मास्क, सेनिटाइजर, साबुन साथै आवश्यक खाद्य सामग्री समेत वितरण गर्दै आएका छन् ।
उनले गाउँपालिकाका वडा नं. १, ५, ६ र ७ मा रहेका संक्रमितलाई उक्त स्वास्थ्य सामग्री र साथै खाद्य सामग्री समेत वितरण गरिसकेका छन् ।
उनले भने, ‘संक्रमितलाई हौसला प्रदान गर्दै स्वास्थ्य र खाद्य सामग्री वितरण गरिरहेको छु, यो अभियान निरन्तर चल्नेछ ।’ सभापति राईले आफ्नो व्यक्तिगत खर्चबाट सहयोग गरिरहेको र गाउँपालिकाका सबै वडामा सहयोग गर्ने बताए ।
राईल टोलटोलमा पुगेर स्वास्थ्य सामग्री र आवस्यक खाद्यन्न वितरण गर्न थालेपछि कोरोना संक्रमितको पनि हौसला बढेको छ ।
Post Views: 39