विराटनगर, १९ बैशाख । विराटनगरको रानीबाट खुला सिमानाको प्रयोग गर्दै नेपालभारत आवतजावत गर्नेको संख्यामा कमी आउन सकेको छैन् । कोरोना महामारी नियन्त्रण गर्नका लागि सिमानाकामा कडाई गर्ने भनिएपनि आवतजावत गर्ने मानिसको संख्यामा कमी आउन नसकेको हो ।
मुख्य नाका बन्द अवस्थामा भएपनि खुला सिमानाको प्रयोग गरेर आवतजावत गर्नेको संख्या रोकीएको छैन् । पछिल्लो समय सिमानाकामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । तर, सुरक्षाकर्मीको बाक्लो उपस्थितिकै बिच नेपाल भारत आवतजावत गर्ने मानिसको संख्यामा कमी आएको छैन् ।
प्रहरी प्रशासन भने सिमानाकामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएर अव्यवस्थित आवतजावतलाई पुर्ण रुपमा बन्देज लगाएको बताउँदै आएको छ । तर, प्रहरीले सिमानाकामा भइरहेको आवतजावतलाई नियन्त्रण गर्न प्रभावकारी भुमिका खेल्न नसकेको स्थानियले बताएका छन् । त्यहाँ बसेका सुरक्षाकर्मीले व्यापारीहरूसँग रकम लिएर तस्करीमा समेत सहयोग गरिरहेको स्थानियले आरोप समेत लगाएका छन् ।
संचारकर्मी पुगेको अवस्थामा सुरक्षाकर्मीले कडाइ गरेजस्तै गरेपनि देखावटी मात्रै भएको स्थानिय सुमित बस्नेतले बताए । उनले भने, ‘यहाँ हिजोअस्तिको तुलनामा केही कम आवतजावत भएको देखिन्छ तर ठप्प भएको छैन्, अहिले पनि मानिसहरू आउनेजाने गरिरहेका छन्, अझ प्रहरीले पनि आवतजावतलाई नियन्त्रण गर्न सकेको छैन् ।’
लागुपदार्थ प्रयोगकर्ताहरू पनि साँझको समयमा नेपाल भारत आवतजावत गर्ने गरेको अर्का स्थानिय अरविन्द मण्डलले बताए । सामाजिक विकासमन्त्री उषाकला राईले पनि खुला सिमानाकाबाट हुने आवतजावतलाई पुर्ण रुपमा रोकिएको बताएकी थिइन् । तर, अहिलेसम्म खुला सिमानाकाबाट हुने अव्यवस्थित आवतजावत नरोकिँदा जोखिम भने कायमै रहेको छ ।
Post Views: 1,421