विराटनगर / पैसा कमाउनकै लागि आममान्छे राजनीतिमा लागेको भन्ने सर्वसाधारणको बुझाइ छ । जनप्रतिनिधि र कर्मचारी भनेका भ्रष्टाचारी हुन् भन्ने छाप पनि आमनागरिकमा बसेको पाइन्छ । तर, विराटनगरको सन्दर्भमा यसपटकको निर्वाचनमा आममतदाताको बुझाइ फरक पाइएको छ ।
विराटनगरका १९ वटै वडामा पुगेर गरिएको सर्वेक्षणमा अधिकांश मतदाताले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नागेश कोइरालाप्रतिको हेराइ र बुझाइ फरक पाइएको छ । सर्वेक्षणमा सहभागी ८९ प्रतिशत मतदाताले नागेशले पैसा खाँदैनन् भन्ने प्रतिक्रिया दिएका छन् । बाँकी ११ प्रतिशतले पैसा देखेपछि महादेवका तीननेत्र भनेझैं जोसुकै आए पनि पैसा खान्छन् भन्ने मत जाहेर गरेका छन् । विराटनगर–१९ का ७३ वर्षीय सुरेन्द्र राजवंशीले नागेश आफैं सम्पन्न भएकाले उसलाई नगरपालिकाको पैसा खानु आवश्यक नभएको प्रतिक्रिया दिए । सर्वेक्षणमा राजवंशीले भनेका छन्, “नागेशलाई भगवानले नै अथाहा धन दिएका छन्, उसलाई किन पैसा खानु परो र, उसले भ्रष्टाचार गर्दैन । जनताको सेवा गर्छ । ऊ नाम कमाउन राजनीतिमा लागेको हो ।”
विराटनगर–१२ दरैयाका राजकुमार सरदारले पनि राजवंशीसँगै मिल्दोजुल्दो जवाफ दिएका छन् । सरदारले पनि विराटनगरको विकासका लागि नागेशलाई नै जिताउनुपर्ने अभिमत जाहेर गरे । विराटनगर–१८ का शिक्षकसमेत रहेका ज्ञानेश्वर यादवले मेयरका उम्मेदवार नागेश कोइराला र उपमेयरका उम्मेदवार अमरेन्द्र यादव दुवै जना युवा भएकाले विराटनगरवासीको मनोभावना बुझेर काम गर्ने विश्वास व्यक्त गरे । “दुई समुदायका उम्मेदवार भएकाले विकासमा पनि सन्तुलन आउनेछ,” उनले भने, “विगतमा उत्तरमा धेरै विकास भयो, तर दक्षिणी क्षेत्र सधैं ओझेलमा परो ।”
भ्रष्टाचार मात्रै नगर्ने हो भने पनि विकासले गति लिने विराटनगर–११ का व्यापारी खगेन्द्र मैनाली बताउँछन् । उनले दिल्लीको उदाहरण दिँदै भने, “दिल्लीमा केजरीलालले भ्रष्टाचार नियन्त्रण गर्दा त्यहाँ धेरै विकास भएको छ, जनताले धेरै सुविधा पाएका छन्, विराटनगमा पनि भ्रष्टाचार नियन्त्रण गर्ने हो भने धेरै विकास हुन्छ । त्यो नागेश कोइरालाबाट सम्भव देख्छु म ।” मेयरले मात्रै भ्रष्टाचार नगर्ने हो भने अन्य जनप्रतिनिधि र कर्मचारीले भ्रष्टाचार गर्ने आँट नगर्ने उनको बुझाइ छ । मेयरमा नजित्दै आमसर्वसाधारणबाट कोइरालाप्रति सकारात्मक दृष्टिकोण आउनु सुखद भएको राजनैतिक विश्लेषकसमेत रहेका प्राध्यापक शंकर दाहाल बताउँछन् । उनी भन्छन्, “अहिले नेताहरुप्रति जनताको बुझाइ नकारात्मक भइरहेका बेला नागेशजीले भ्रष्टाचार गर्दैनन् भन्ने मतदाताबाटै प्रतिक्रिया आउनु निकै नै सकारात्मक पक्ष हो । मतदाताको यस किसिमको बुझाइलाई विजयी भएको खण्डमा नागेशजीले बचाइ राख्नुपर्छ ।”
‘विराटनगर महानगरपालिकाका लागि मेयरका उम्मेदवार नागेश कोइराला तपाईंलाई कस्तो लाग्छ ?’ भनेर उनीहरू सबैलाई एउटै प्रश्न सोधिएको थियो । हरेक वडामा ५०–५० जनाको दरले गरिएको सर्वेक्षणमा लोभलालच नगरी काम गर्ने हो भने पाँच वर्षमै विराटनगरको विकासले फड्को मार्ने बताएका थिए । उनीहरूले भ्रष्टाचार नियन्त्रणबाहेक प्राथमिकताका आधारमा योजना बनाएर काम गर्न सुझाएका छन् ।