विराटनगर । नेपाली इतिहासको चर्चित राजनीतिक घटना कोतपर्वको कथावस्तुमा आधारित रहेर फिल्म ‘कोतपर्व’ निर्माण हुने भएको छ । रिमेश अधिकारीले निर्देशन गर्न लागेको यो फिल्मको छायांकन माघ २१ गतेदेखि सुरु हुने भएको छ ।
फिल्मको पटकथा लेखन सकिएको र आफूहरू छायांकनको तयारीमा जुटेको अधिकारीले बताए । राणा प्रधानमन्त्री जंगबहादुरको उदयको रूपमा हेरिने उक्त घटनाबारे अनुसन्धान गर्न तीन वर्ष लागेको उनले जानकारी दिए । महेश दवाडीले पटकथा लेखेको फिल्ममा अहिले चलेका कुनै सुपरस्टार अभिनेतालाई जंगबहादुरको भूमिकामा अभिनय गराइने अधिकारीले बताए ।
उनले फिल्म काल्पनिक नहुने बताए । काठमाडौं र चितवनमा फिल्मको छायांकन हुनेछ । अधिकारीले ‘नालापानी’ फिल्म समेत निर्माण गरिसकेका छन् । ‘इतिहासविद्सँग छलफल गरेर तथ्यहरू तयार पारिएको छ,’ उनले भने । फिल्म नेपालीसहित हिन्दी र चिनियाँ भाषामा पनि ल्याइने उनले बताए । चिनियाँ वितरकसँग पनि चीनमा रिलिज गर्नेबारे छलफल भइरहेको रिमेशले जानकारी दिए । फिल्मको पोस्ट प्रोडक्सन मुम्बईको स्टुडियोमा गर्ने तयारी छ ।
विक्रम सम्वत १९०३ असोज २ गते भएको कोतपर्वपछि जंगबहादुर शक्तिमा आएका थिए । त्यसपछि १०४ वर्षसम्म नेपालमा जहाँनिया राणाशासन चलेको थियो ।