काठमाडौं । सरकारले २०७७ सालको एसईईको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना महामारीका कारण परीक्षा हुन नसकेकाले आन्तरिक मूल्यांकन विधिबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड १९ को कारणले पाठ्यक्रम तथा विशिष्टिकृत तालिका अनुसार विद्यार्थीको भौतिक उपस्थितिमा सैद्धान्तिक परीक्षा कार्यक्रम गर्न सम्भव नभएकोले सरकारले वैकल्पिक विधि अपनाएको बताए ।
शिक्षा मन्त्री श्रेष्ठका अनुसार विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकनको विवरण सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाइले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने छ ।
‘प्राप्त विवरणका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल तयार गर्ने, प्रकाशन गर्ने, प्रमाणिकरण गर्ने र प्रमाणपत्र जारी गर्नेछ,’ उनले भने ।
आन्तरिक मूल्यांकनको कार्यविधि राष्ट्रिय परीक्षा बोर्डले बनाउन सक्नेछ । सरकारको निर्णयलाई नेपाल राजपत्रमा प्रकाशित गरिने मन्त्री श्रेष्ठले जानकारी दिए । महामारीका कारण गत वर्ष पनि आन्तरिक मूल्यांकन विधिबाटै एसईई नतिजा सार्वजनिक गरिएको थियो ।
Post Views: 19