काठमाडौँ । औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ । सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले आज उक्त खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिएको हो ।
विभागीय निर्णयअनुसार सिनोभ्याकको खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए । विभागले यसअघि नै चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइसकेको छ । ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि सिनोभ्याकले उत्पादन गरेको उक्त खोपलाई यसैसाता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमित दिएको थियो ।
यससँगै चीनमा उत्पादन भएका दुई खोपलाई डब्लुएचओले आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओले यसअघि नै सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो । सिनोभ्याकले उत्पादन गरेको कोरोनाभ्याक खोप चीनका साथै चिली, ब्राजिल, इन्डोनेसिया, मेक्सिको, टर्की र थाइल्याण्डमा प्रयोग गरिएको थियो । ती देशमा खोप लिएका आधाभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको लक्षण नदेखिएको, शतप्रतिशत व्यक्तिमा गम्भीर बिरामी र अस्पताल भर्ना हुनुपर्ने अवस्था नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त खोप १८ वर्षमाथिका व्यक्तिले लगाउन सक्ने डब्लुएचओले जनाएको छ । सिनोभ्याकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियत तापक्रममा सामान्य ‘रेफ्रिजेरेटर’मा भण्डारण गरेर राख्न सकिने छ । चीनले दुई चरणमा गरेर नेपाललाई १८ लाख भेरोसेल खोप अनुदानमा दिइसकेको छ । यसैगरी भारतले पनि १० लाख डोज कोभिसिल्ड खोप नेपालाई अनुदान दिएको छ ।
तत्काल १० लाख डोज ल्याउने
विभागले सिनोभ्याकको खोपलाई नेपालमा प्रयोग अनुमति दिएसँगै उत्पादक कम्पनीको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले आयातका लागि अनुमित मागेको छ । विभागले आयात अनुमति दिएसँगै उक्त कम्पनीले सिनोभ्याकको खोप नेपाल भित्र्याउने छ ।
विभागबाट प्रयोग अनुमति पाएसँगै आयात अनुमतिका लागि आवेदन दिइएको बायोमेटिक्स प्रालिका निर्देशक बिके भण्डारीले बताए । बायोमेटिक्सले उक्त खोपको उपभोक्ता मूल्य प्रतिडोज रु दुई हजार १०० तोकेर विभागसमक्ष आयात अनुमति मागेको छ । उक्त मूल्यमा सबै खर्च समावेश भएको छ ।
“विभागले सिनोभ्याकको खोपको प्रयोगलाई अनुमति दिएसँगै कोभिड महामारी नियन्त्रण गर्न सरकार र जनतासमक्ष हातेमालो गर्न हामीले उक्त खोप जतिसक्दो चाँडो नेपाल ल्याउन आयात अनुमति मागेका छौँ’, उनले भने, “आइतबारसम्म आयात अनुमति पाउने अपेक्षा गरेका छौँ ।”
Post Views: 79