सुस्मिता बस्नेत
कोरोना महामारीले विश्वलाई अक्रान्त पारिरहेको बेला मेरो देश पनि अछुतो रहन सकेन । पहिलो चरणको कोरोना भाइरसले नेपालमा पनि उग्ररुप लियो । जबसम्म कोरोना पोजेटिभ हुँदैन हामीलाई कोरोना केही हैन जस्तो लाग्छ । दिन प्रतिदिन कोरोना फैलिएको समाचार हेर्दा भ्रम जस्तो लाग्थ्यो । मान्छेहरुमा कोरोनाको बुझाइप्रति दुईमत रहँदै आएको थियो । कसैको नजरमा भ्रम र कसैको नजरमा यथार्थ । यथार्थ उसको जीवनमा लागू भयो जो कोरोनाबाट संक्रमित भए ।
मलाई कोरोना पोजेटिभ भएको आज २२ दिन भयो । यो रोग त्यति सामान्य र सहज हैन रहेछ । एक मानसिक तनाब पनि रहेछ । आफन्तहरु नजिक आएर न हेरबिचार गर्न पाउँछन् त न गफ गर्ने कोही नै हुन्छ । म बसेको घरमा सबैलाई कोरोना पोजेटिभ भएको थियो । सबै आ-आफ्नै कोठामा बस्थ्यौ गाह्रो हुँदा तातो पानी तताएर दिनेसमेत कोही हुँदैन थियो ।
पहिलो दिन ज्वरो र रुघाखोकी लागेर नाक बन्द हुन थाल्यो । त्यसपछि सास फेर्न गाह्रो हुने, स्वाद हराउने हुन थाल्यो । जिउ पूरै गलेको, शरीरको दुखाइले न निदाउन सकिन्छ न सहन नै । घरिघरि आत्मवल कमजोर भएर मनदेखि नै डर लाग्थ्यो । न कोही आफन्त नै नजिक हुन्छ्न् ।
भगवान पुकारेर बस्नु शिवाय अर्को विकल्प थिएन । सबै खानेकुराको स्वाद कुहिएको जस्तो, उठेर हिँड्न खोज्दा रिगटा लागेर लड्न खोजिन्छ ।शरीर यदि कमजोर हुन्छ कि सबै तागत हराएर जान्छ । अहिले यस्तो भएको छ, न कोहीसँग बोल्न मन लाग्छ । अरुले बोलाउँदासमेत झर्को लाग्छ । तपाईहरु धेरैलाई कोरोना केही हैन जस्तो लाग्छ होला । तर तपाईलाई त्यसबेला कोरोना यथार्थ लाग्छ जब तपाईं कोरोनाबाट संक्रमित भएर ओछ्यानमा पल्टिरहेको हुनुहुने छ ।
त्यसबेला न कोही साथीभाइ तपाइको छेउमा हुन्छ्न् न त आफन्त नै । अहिले अवस्था सामान्य छैन । कोरोनाबाट बच्न गर्नुपर्ने सबै उपाय अपनाउनुस्, साथीभाइ अवस्था सामान्य भएपछि नि भेट्न सकिन्छ । ज्यान रहे हजार उपाय कोरोनालाई भ्रमको रुपमा नलिऔँ । जब सास फेर्न गाह्रो हुन्छ, तब पलपल आफूलाई मरे जस्तो लाग्छ । तपाईलाई कोरोना त्यसबेला यथार्थ लाग्छ लाग्ने छ, जब तपाईं कोरोना पोजेटिभ भएर एक्लै कुनै हस्पिटल वा घरको कुनै कोठामा जिन्दगी र मृत्युको बीचमा हुनुहुने छ।