विराटनगर । फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणमा नेपाल आफ्नो अन्तिम खेलमा पराजित भएको छ । शुक्रबार १० खेलाडीमा सीमित नेपाललाई अस्ट्रेलियाले ३-० गोलले पराजित गर्यो।
कुवेत सिटीमा भएको खेलको छैटौं मिनेटमा अस्ट्रेलियाले अग्रता लियो । उसका लागि म्याथ्यु लकीले पहिलो गोल गरे । ३८ मिनेटमा अस्ट्रेलियाका काराकिकले दोस्रो गोल गरे ।
खेलको ४५ मिनेटमा नेपाल १० खेलाडीमा सीमित बन्यो । नेपालका रोहित चन्दले सिधा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । उनले अस्ट्रेलियाका मार्टिन बोयललाई लडाएका थिए । ५७ मिनेटमा अस्ट्रेलियाका लागि बोयलले तेस्रो गोल गरे ।
दोस्रो हाफभर १० खेलाडीमा खेलेको नेपालका लागि कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले अस्ट्रेलियाका आधा दर्जन प्रहार विफल पारेका थिए ।
विश्वकप छनोटबाट बाहिरिसकेको नेपालको एसियन कपको तेस्रो चरणमा सिधा पुग्ने सम्भावना पनि सकिएको छ । अब नेपालले प्लेअफबाट तेस्रो चरणमा लागि पुग्न प्रतिस्पर्धा गर्नु पर्नेछ । २१ अंक जोडेको शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका ७ वटै खेलमा जित हात पार्यो । दोस्रोको स्थानको जोर्डनको १३ अंक छ भने तेस्रो स्थानका कुवेत १० अंक छ ।
नेपाल ६ अंक जोडेर अंक तालिकाको चौथो बन्यो। नेपालले चाइनिज ताइपेईलाई दुवै लेगमा समान २-० गोलले पराजित गर्दा अरु तीन टिमसँग दुवै खेलमा पराजय भोग्यो । पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका सबै खेलमा हार बेहोरेकाले अंक जोड्न सकेको छैन ।
नेपाल र अस्ट्रेलियाबीच सन् २०१९ मा यहि छनोटको पहिलो लेगमा प्रतिस्पर्धा भएको थियो । क्यानबेरामा भएको सो खेलमा अस्ट्रेलियाले नेपाललाई ५-० गोलले पराजित गरेको थियो ।
Post Views: 5