पाँचथर । पाँचथरमा धारिलो हतियार प्रयोग गरी वृद्धको हत्या भएको छ । फिदिम नगरपालिका–४ जोरसालमा ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
शनिबार राति उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको छ ।
घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिकरूपमा अशक्त छन् । सासूससुरा भेट्न मृतककी बुहारी आज बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो । अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ ।
मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन् । गत बिहीवारमात्रै उनले निवृत्तिभरणको रकम बैंकबाट बुझेको हुनाले लुटपाटका लागि उनको हत्या भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले थप विवरण सार्वजनिक भएको छैन ।
Post Views: 272