मोरङमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्नेक्रम यथावतै रहेकाले असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले असार १ गते राति १२ बजेबाट लागू हुनेगरी असार ७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
यसअघि जेठ २४ गते राति १२ बजेदेखि लागू गरिएको निषेधाज्ञा ३१ गते राति १२ बजे सकिँदै छ । प्रजिअ निरौलाका अनुसार मोरङमा कोरोना सङ्क्रमणको दोस्रो लहरको नयाँ कोभिड भेरियन्ट दैनिक रूपमा बढिरहेका कारण निषेधाज्ञा लम्ब्याइएको हो ।
‘विराटनगर महानगरपालिकालगायत जिल्लाका सबै पालिकाहरूमा यसको सघन विस्तार भएपनि कोभिडका कारण नागरिकको दैनिक मृत्युसमेत भइरहेको छ’, उनले जारी गरेको आदेशमा भनिएको छ, ‘यसर्थ तीव्र रूपमा फैलिरहेको कोभिड सक्रमणको रोकथाम र नियन्त्रण गरी नागरिकको जीवन रक्षाका लागि निषेधाज्ञा जारी गरिएको हो ।
यस अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, खानेपानी, माछामासु, विद्यालयका पुस्तक बिक्री वितरण गर्ने पुस्तक पसल, सार्वजनिक निर्माणमा प्रयोग हुने छड, सिमेन्ट, डण्डी, विद्युतीय सामाग्री विक्री गर्ने पसल लगायत अत्यावश्यक सामाग्री आपूर्ति गर्ने पसल, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी बिहान ५ः०० बजेदेखि विहान ११ः०० बजेसम्म सञ्चालन गर्न पाइने छ ।
उक्त समयमा अत्यावश्यक खाद्यवस्तु, पशु आहार, दाना ओसारपसार तथा बिक्री वितरण गर्न पाइने छ भने औषधि पसल, अक्सिजन तथा स्वास्थ्य सामाग्री पसल तथा पेट्रोल पम्पहरू नियमित रूपमा सञ्चालन गर्न पाइने छ ।
यसैगरी, दूध तथा दुग्धजन्य पदार्थ बिक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने छ भने भिड नगरिकन र दूरी कायम गरी बिहान ११ बजेसम्म पुस्तक पसलहरू सञ्चालन गर्न पाइने छ ।
डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरू, दूरसञ्चार क्षेत्रमा काम गर्ने कर्मचारीहरू, सरसफाइकर्मीहरू, अत्यावश्यक सेवामा खटिएका कर्मचारीहरू, तोकिएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू, कृषि कार्यमा खटिने जेटी, जेटिए र प्राविधिकहरू परिचयपत्र प्रयोग गरी आवतजावत गर्न सक्नेछन् ।
सरकारी कर्मचारीहरूले कार्यालय आउन र कार्यालय समयपश्चात फर्कन आ–आफ्नो परिचयपत्रको प्रयोग गरी आवतजावत गर्न सक्नेछन् । अत्यावश्यक सेवामा प्रयोग हुने विद्युत, सञ्चार, खानेपानी, बैंक तथा वित्तीय संस्था, फोहोरमैला ब्यवस्थापन, खाद्यान्न, तरकारी, फलफूल, पशु–आहार तथा दाना, दूध, इन्धन सेवा, औषधि, एम्बुलेन्स सेवा तथा बिमारी बोकेको गाडी, शव वाहनहरू निर्वाध सञ्चालन गर्न पाइने छ ।
अत्यावश्यक खाद्यवस्तु, पशु आहार, कृषि मल, माछा तथा कृषि र पशुपालनसँग सम्बन्धित सबै सामानको ओसारपसार, ढुवानी नियमित रुपमा गर्न पाइने, सबै किसिमका कृषिजन्य उत्पादन, मासुजन्य पशुपन्छी ( राँगा, खसिबोका, हाँस, कुखुरा ) आदिको ओसारपसार गर्न पाइने छ ।
वर्कसपहरू बिहानदेखि सञ्चालन गर्न सकिने छ भने कूटनीतिक नियोगका सवारी साधन, पत्रपत्रिका वितरण गर्न प्रयोग हुने सवारी साधन, डाँक, हुलाक तथा कुरियर सेवाका सवारी साधनहरू सञ्चालन गर्न दिइने भएको छ ।
यस्तै, बिरामीहरुलाई डाक्टरको प्रेस्क्रिप्सनको आधारमा स्वास्थ्य संस्थामा उपचारका लागि जान, आउन बाधा नपर्ने, वस्तु तथा सेवाको अनलाइन अर्डर गरी होम डेलिभरी सेवाका कार्य गर्न पाइने छ ।
निषेधाज्ञामा गर्न नपाउने कार्यहरू
अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा, सरकारी कार्यालय–सेवाहरू बन्द गर्नुपर्ने छ भने गुद्री बजार, हाट बजार, सब्जीमण्डी, होटेल, रेष्टुरा, पार्टी प्यालेस सञ्चालन पाइँदैन । सैलुन, ब्युटीपार्लर, जिमखाना, स्वीमिङ पुल, सिनेमा हल, व्यायामशाला, फुटसल, रङ्गशाला, कभर्ट हल हाललाई सञ्चालन नगर्ने आदेश जारी भएको छ ।
कार, जीप, भ्यान, इ–रिक्सा, ट्याक्सी, टेम्पो लामो तथा छोटो दूरीका सवारी साधन लगायत सबै किसिमका निजी तथा भाडाका सार्वजनिक यातायातका साधनहरू सञ्चालन गर्न निषेध गरिएको छ भने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक सेवामा खटेका कर्मचारी, कामदार र अनुमति प्राप्त गरेका व्यक्तिहरू बाहेक कुनै पनि व्यक्तिहरु घर बाहिर निस्किन पाइँदैन ।
अत्यावश्यक बाहेक १० वर्षभन्दा तलका तथा ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिहरूले कुनै पनि काममा घरबाहिर आवतजावत गर्न पाउँदैनन् । दैनिक रूपमा गरिने नित्य, पूजा, प्रार्थना वाहेकका धार्मिक तथा सांस्कृतिक कार्यहरु, मेला, चाड–पर्व, जात्रा, हाट–बजार, महोत्सव, भेला तथा अन्य सामूहिक गतिविधिहरू गर्न, गराउन पाइँदैन ।
कुनै पनि स्थानमा जम्मा भई कुनै पनि प्रकारका भेला, जुलुस, सम्मेलन, छलफल, गोष्ठी, सेमिनार जस्ता भिडभाड हुने कार्य नगर्न–नगराउन आदेश जारी भएको छ भने जिल्लाभरिका सबै स्थानमा बेलुका ८ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ ।
यस्तै, सबै विद्यालय, क्याम्पस, ट्युसन सेन्टर, कोचिङ्ग सेन्टर, विश्वविद्यालयहरू सञ्चालन नगर्ने, होटेल, मोटेल, रेष्टुरेन्टहरुमा भेटघाट तथा जम्मा हुने गरी सञ्चालन गर्न तथा सेवा प्रदान गर्न नपाउने, अन्तर्राष्ट्रिय सीमा नाकाबाट विदेशी नागरिकको प्रवेश निषेध गर्न आदेश जारी भएको छ ।
यस्तै, यो आदेश जारी रहुन्जेल समूह जमघट भै गरिने विवाह तथा ब्रतबन्ध जस्ता सामाजिक कार्यहरु पनि नगर्न र नगराउन भनिएको छ ।
Post Views: 13