विराटनगर । नेपाल आयल निगम लिमिटेडले इन्धनको मूल्य वृद्धि गरेको छ । बुधबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले वृद्धि भएको छ ।
मुल्य वृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर १ सय २७ रुपैयाँ, डिजेल तथा मट्टितेल एक सय १० रुपैयाँ र आन्तकि हवाइ इन्धन ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर ७ सय ३५ डलर पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ निरन्तर वृद्धि भएकाले नेपाली बजारमा पनि चाप बढेको आयल निगमका प्रवक्ता बिनितमणी उपाध्यायले जानकारी दिए । उनका अनुसार मूल्यवृद्धि पछि पनि निगमको घाटा यथावत छ । वृद्धि गरिएको मूल्यमा इन्धन बिक्री गर्दा पनि आगामी १५ दिनमा निगमलाई ६४ करोड ९७ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ ।