विराटनगर, १५ विराटनगर । मोरङ क्याम्पस विराटनगमा चार नयाँ क्याम्पस प्रमुख नियुक्त भएका छन् । नियुक्त हुनेहरुमा विज्ञानतर्फ डा विष्णुदेव दास, मानविकी तथा सामाजिकशास्त्रतर्फ बासुदेव मेहता, व्यवस्थापन संकायतर्फ शिवनारायण चौधरी र डिल्ली पोखरेल छन् ।
मोरङ क्याम्पसका प्रमुख डा बाबुराम तिमल्सिनाको सिफारिसमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष शिवलाल भुसालले उनीहरुलाई असार १५ गतेदेखि लागू हुने गरी दुई वर्षको लागि नियुक्त गरेका हुन् ।
मोरङ क्याम्पसमा मानविकी र व्यवस्थापन संकायमा दुई–दुई र विज्ञान संकायमा एक गरी पाँच सहायक प्रमुखमा मानविकीतर्फ २०७७ सालमा नै डा सुशील अधिकारी दोस्रो कार्यकालका लागि नियुक्त भइसकेका छन् ।
नयाँ आएका चारै सहायक प्रमुख भागवण्डाको आधारमा नियुक्त भएका हुन् । डा दास नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, मेहता नेकपा माओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठन, चौधरी जसपा निकट प्राध्यापक संघ र पोखरेल नेकपा एमाले निकट प्रगतिशील प्राध्यापक संगठनको सिफारिस अनुसार सहायक प्रमुखमा नियुक्त भएका हुन् ।
यसभन्दा अगाडिका सहायक प्रमुखहरु विज्ञानतर्फ डा प्रमोद खेरवार चार वर्ष, व्यवथापनतर्फ मोहनकुमार श्रेष्ठ छ वर्ष र ताराप्रसाद यादवले १४ वर्षसम्म कार्यभार सम्हालेका थिए । हाल मोरङ क्याम्पसमा आठ हजार विद्यार्थी अध्ययनरत र तीन सय बढी प्राध्यापक कार्यरत छन् ।