भोजपुर, १६ असार । कोरोना सङ्कट बढिरहँदा भोजपुरका युवाहरू भने कृषि पेशा थाल्दै व्यावसायिक बनेका छन् । भोजपुरमा युवाहरूले अहिले आफ्नै जग्गामा टमाटरका साथै अन्य तरकारी खेती लगाउन सुरु गरेका छन् ।
भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिमका प्रकाशचन्द्र घिमिरे अहिले टमाटर र अन्य विभिन्न तरकारी खेतीमा व्यस्त देखिन्छन् । घिमिरेले अहिले ५ रोपनी जग्गामा टमाटरका साथै कोपी,खुर्सानी लगायतको खेती सुरु गरेका छन् ।
जिल्लाका युवाहरूमा वैदेशिक रोजगारीमा जाने भन्दा पनि अहिले पछिल्लो समयमा गाउँमै मेहनत गर्न सकेमा केही गर्न सकिने रहेछ भन्ने धारणा जाग्न थालेको स्थानीय कृषक हर्क श्रेष्ठको भनाई रहेको छ ।
कोरोना लकडाउनका कारण अन्य व्यवसाय भन्दा कृषि व्यवसाय नै उत्तम भएकाले आफूहरू पनि अहिले सोही पेसामा लागेको कृषक कृष्ण कुमारी प्रधानले बताए । कृषि पेसामा लाग्न सरकारी निकाय, स्थानीय तह र कृषि ज्ञान केन्द्रले उचित योजना र सहयोग गर्ने हो भने जिल्लामा अरू युवाहरू पनि कृषि पेसामा लाग्ने युवा कृषक निर प्रधान बताउँछन् ।