विराटनगर, असार २ । आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ । घरेलु टोली अमेरिकाले जितका लागि प्रश्तुत गरेको २४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.४ सबै विकेट गुमाउँदै २०६ रनमा समेटियो । नेपालका लागि आरिफ सेखले अर्धशतकीय पारी खेले । उनले ६३ रन बनाए भने सोमपाल कामी ४७ र देव खनालले ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन् । आरिफले ७६ बलमा ३ चौकासहित ६३ रन प्रहार गरेर क्याच आउट भएभने सोमपाल कामी ७२ बलमा १ चौकासहित ४७ रन बनाएर रन आउट भएका थिए । त्यस्तै देव खनालले ४७ बलमा २ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाएर रन आउट भए । नेपालका लागि अन्य ब्याट्सम्यान कुशल भुर्तेलले २९ बलमा १० रन, आसिफ सेखले १५ बलमा १८, रोहित पौडेलले १९ बलमा १६, दिपेन्द्र सिंह ऐरीले ११ बलमा ७ रन, मोहम्मद आदिल आलमले १० बलमा ४ रन, करण केसीले ३ बलमा १ रन बनाए भने सागर ढकाल १ रनमा अविजित रहे । कप्तान सन्दिप लामिछानेले खाता नै खोल्न सकेनन् । अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र अलि खानले समान ३÷३ विकेट लिए भने नोसतुस केन्जिगेले र निसर्ग पटेलले समान १÷१ विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४५ रन बनाएको थियो । अमेरिकाका लागि गजानन्द सिंह ५८ र सुशान्त मोदानीले ५४ रनको अर्धशतकीय पारी खेले आरोन जोन्स ४३, सैटेजा मुक्कामल्लले ३६ रन बनाएका थिए । नेपालका लागि बलिङमा करण केसीले ९ ओभर बलिङ गर्दै ६७ रन खर्चिएर ३ विकेट लिए भने कप्तान सन्दिप लामिछानेले १० ओभर बलिङ गर्दै ४३ रन खर्चिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामीले ९ ओभरमा ५७ रन खर्चिएर १ विकेट हात पारे भने दिपेन्द्र सिंह ऐरीले १० ओभरमा ४३ रन दिएर १ विकेट लिए । खेलमा पराजित भएपछि सञ्चारकर्मीहरुसँग बोल्दै कप्तान सन्दिप लामिछानेले हारेका सबै खेल जित नजिक पुगेर हारेको बताउनु भयो । उहाँले सबै खेल जित्ने अवसर रहँदा पनि ब्याटिङमा विकेटको नियन्त्रण गर्न नसक्दा हार्न बाध्य भएको बताउनु भयो । कप्तान लामिछानेले ब्याटिङमा साना गल्तीहरु भइरहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले आफूलाई साथ दिन अन्य स्पिनर बलरहरुले विकेट निकाल्न नसक्नु पनि थप समस्या बनेको बताउनु भयो । कप्तान लामिछानेले खेल हार्नुमा अनुभवी खेलाडीको कमी भएको र आफू पनि कप्तानमा नयाँ तथा सबै खेलाडीहरु अनुभवहीन भएकोले सिक्दै अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले आफूले पनि बलिङमा सोचेजस्तो राम्रो गर्न नसकेको भन्दै अबका दिनमा कमजोरीलाई सुधारेर अघि बढ्ने बताउनु भयो । आगमी खेलमा थप चुनौती रहेको भन्दै उहाँले खेलाडीहरुलाई थप अभ्यास गराएर खेल राम्रो पस्कने बताउनु भयो ।
Post Views: 0