विराटनगर, २१ असार । मोरङका चार विद्यार्थी सङ्गगठनले वर्तमानमा जिल्लाका जल्दाबल्दा समस्याहरू तत्काल समाधान गर्न माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापनपत्र बुझाएका छन् ।
आइतबार यथासक्य चाँडो खोप ल्याउनेलगायत तीन बुँदे माग प्रस्तुत गर्दै मोरङका चार विद्यार्थी सङ्गठनले ज्ञापनपत्र बुझाएका हुन् । अनेरास्ववियु माधव नेपाल पक्ष मोरङका सचिव निर्मल भण्डारीका अनुसार निषेधाज्ञा बढाउँदै लैजाँदा विपन्न वर्गलाई समस्या भएको र उनीहरूलाई २४ घण्टाभित्र राहत उपलब्ध गराउन उच्च अदालत विराटनगरले गरेको आदेश कार्यान्वयन गर्नुपर्ने, कोरोना खोप यथासक्य चाँडो प्राथमिकताको आधारमा सबै जनतालाई उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
यस्तै, अविरल वर्षाका कारण मोरङका विभिन्न ठाउँहरूमा बाढीका कारण डुबानमा परेको बस्तीहरुमा तत्काल उद्धार तथा राहतको व्यवस्था गर्नुपर्ने र बाढी सम्भावित जोखिममा रहेका ठाउँहरुमा आवश्यक पूर्वतयारी गर्नुपर्ने माग गरिएको छ ।
आइतबार अनेरास्ववियूका सचिव भण्डारीका साथै नेपाल विद्यार्थी संघ मोरङका जसवन्त पौडेल, अनेरास्ववियु (क्रान्तिकारी), मोरङका अध्यक्ष टेकेन क्षेत्री, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य कमल पोखरेल लगायतले प्रजिअ निरौलालाई ज्ञापनपत्र बुझाएका थिए ।
Post Views: 25