विराटनगर । विभिन्न पाँच विद्यार्थी सङ्गठनले बुधबार बिहानैदेखि पेट्रोलपम्पहरू बन्द गराएका छन् । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजी हुनुपर्ने माग गर्दै पाँच विद्यार्थी सङ्गगठनले विराटनगरका पेट्रोलपम्पहरू बन्द गराएका हुन् ।
नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी यूनियन र अखिल (छैटौँ) आवद्ध विद्यार्थीहरूले विरानगरका पेट्रोलपम्प तथा नेपाल आयल निगममा इन्धन ढुवानी गर्ने सवारी साधनलाई अवरुद्ध गरेका हुन् ।
उनीहरूले प्रदर्शन गर्दै आज विराटनगरमा इन्धन आपूर्ति र वितरण अवरुद्ध पारेका हुन् । गत आइतबार राजधानीमा पाँच विद्यार्थी सङ्गठनले ७ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेअनुसार आज इन्धनको आपूर्ति र वितरण प्रणालीलाई अवरुद्ध पारिएको अनेरास्वियू माधव नेपाल पक्ष मोरङका सचिव निर्मल भण्डारीले जानकारी दिए ।
पेट्रोलपम्पबाट वितरण हुने इन्धनमा पूर्ण रूपमा रोक लगाइएको भण्डारीले बताए । यस्तै, पाँच विद्यार्थी सङ्गठनले नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगर, ढुवानीका ट्याङ्कर, वितरण गर्ने पेट्रोलपम्पमा प्रदर्शन गरेका छन् ।