सुनसरी, २६ साउन । जिल्ला प्रहरी कार्यालय सुनसरीले एक महिनाको अवधिमा बिभिन्न मुद्धाका २३८ जना फरार प्रतिबादीहरूलाई पक्राउ गरेर अदालतमा पेश गरेको छ । जसमा ५ दिन देखी २० बर्ष सम्म कैद सजाय तोकिएका प्रतिबादीहरू छन् ।
साउन १ गते देखी हालसम्म सुनसरी अदालतबाट कैद र जरिवाना तोकीएर फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरूलाई खोजतलास गरी सुनसरी प्रहरीले जिल्ला अदालतमा पेश गरेको हो ।
कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टाचार आदिमा सजाय तोकीएका फरार रहेका प्रतिवादीहरूबाट ४९ वर्ष कैद सजाय फछ्र्याेट भएको छ भने ९ लाख ३५ हजार ३ सय १९ रुपैया जरिवाना समेत असुल भएको छ ।
फरार प्रतिबादी पक्राउका क्रममा २०६६ बैशाख १६ गते आफ्नी नातिनी ५ वर्षीया सोशिला कुमारी खत्वेलाई घाटी वटारी मारेर प्लाष्टिकको बोरामा हालेर खेतमा गाडेर फरार रहेका वसन्त खत्वे समेत रहेका छन् । उनलाई सुनसरी जिल्ला अदालतबाटट जन्म कैद सजाय तोकिएको थियो ।