मुकेश यादव
विराटनगर, २७ साउन । बुधबार (आज) बाट विराटनगरको रानी नाका खोलिएको छ । कोरोना महामारीका कारण लामो समय बन्द रहेको नाका आजबाट खुल्ला गरिएको हो ।
लामो समयदेखि मुख्य नाका बन्द रहेको भएपनि खुल्ला सिमानाकाको प्रयोग गरेर आउजाउ भईरहेको थियो । खुल्ला नाकाबाट अव्यवस्थित र असुरक्षित आउजाउ भएको भन्दै मुख्य नाका खुल्ला गरिएको मोरङ प्रशासनले जनाएको छ ।
मुख्य नाका बन्द भएका कारण खुल्ला नाकाबाट असुरक्षित आवतजावतले कोरोना संक्रमणको जोखिम बढाएको र अबैध कारोबार बढ्दै गएको थियो ।
बुधबारबाट खुल्ला नाकाबाट हुने गरेको आउजाउलाई कडाई गरेर मुख्य नाका संचालनमा ल्याएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए । हेल्थ डेस्क समेत रहेका कारण प्रारम्भिक स्वास्थ्य परीक्षण, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन सहज हुने भएकोले रानी नाकाबाट पैदल यात्री आउजाउ खुल्ला गरिएको उनले जानकारी दिए ।