विराटनगर । बालुवाटार अगाडि प्रदर्शनमा उत्रिने तयारी गरिरहेको बेला शिक्षकहरु पक्राउ परेका छन् ।
शुक्रबार प्रधानमन्त्री निवासमा धर्ना कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रहरीले पक्राउ गरेको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदी जानकारी दिए ।
शिक्षकहरुको बालुवाटारमा भेला भई १० बजेदेखि १ बजेसम्म धर्ना दिने उनीहरुको कार्यक्रम थियो । आन्दोलित शिक्षकहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी कमलपोखरीस्थित प्रहरी कार्यालयमा राखिएको महासचिव सुवेदीले जानकारी गराए ।
गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रवन्धमा परिवर्तन गर्नुपर्ने, नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ३० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, प्रारम्भिक बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउनुपर्ने लगायतका १४ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघले गत बैशाखदेखि चरणबद्घ आन्दोलन गर्दै आएको छ ।