झूटो विवरण पेस गरेर जिल्ला बाहिरका व्यक्तिलाई नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोताङ ४ का वडाध्यक्ष रामकुमार राई र वडा सचिव प्रभात राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
२०४८ मा सिन्धुलीमा जन्मेका सरोज तामाङले सोताङ ४ वडा कार्यालयमा जन्म दर्ता गराई स्थानीय शुक्र तामाङलाई दाइ भनेर सनाखत गराएको पाइएको छ ।
वडाको सिफारिसमा साउन २४ मा जिल्ला प्रशासन कार्यालय सल्लेरीबाट ११–०१–७८००३५५ नम्बरको नागरिकता सरोज तामाङको नाममा जारी गरिएको थियो ।
झूटो विवरण देखाएर नागरिकता लिएको उजुरीका आधारमा नागरिकता लिने सरोज तामाङ र दिलाउन दाइको भूमिका निर्वाह गर्ने शुक्र तामाङ, नागरिकता साक्षी बस्ने सोताङ ४ का सुदीप राई, टीकाराम राई र सूर्यबहादुर राईलाई यसअघि नै पक्राउ गरि १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
Post Views: 26